मध्यपुर थिमि नगरपालिकाले डेंगी नियन्त्रणका लागि ‘खोजौं र नष्ट गरौं’ अभियानलाई तीव्रता दिने

भक्तपुर, भाद्र ३१
मध्यपुर थिमि नगरपालिकाले डेंगी नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिने भएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नगरपालिकामा शुक्रवार आयोजित सरोकारवालाहरुसँगको छलफलपछि डेंगी नियन्त्रणका लागि विषादी छर्ने भन्दा स्वास्थ्यका दृष्टिकोणले उत्तम मानिएको लार्भाको ‘सर्च एण्ड डिस्टा«ेए’ (खोजौं र नष्ट गरौं) अभियानलाई तीब्रता दिने भएको हो ।
छलफलमा नगर प्रमुख श्रेष्ठले नगरभित्र डेंगी नियन्त्रणका लागि प्रत्येक वडामा स्वास्थ्य चौकी र शहरी स्वास्थ्य क्लिनिकको अगुवाईमा सचेतनामूलक कार्यक्रमसहित सरसफाई र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्दै आएकोमा सरोकारवालाहरुको सुझाव बमोजिम थप प्रभावकारी बनाउने बताउनुभयो । उहाँले विषादी छर्दा मानिसलगायत पशुपन्छीको स्वास्थ्यमा समेत नकारात्मक असर गर्ने भएकाले लार्भाको सर्च एण्ड डिस्ट्रोए अभियानलाई तीब्रता दिने बताउनुभयो ।
उहाँले जिल्ला विपत व्यवस्थापन समितिमा पनि विषादी छर्ने भन्दा पनि लार्भा ‘खोजौं र नष्ट गरौं’ अभियानलाई तीब्रता दिने निर्णय भए बमोजिम पनि नगरपालिकाले यसलाई थप प्रभावकारी बनाउन आवश्यक सबै प्रबन्ध गर्ने र सरोकारवालाहरुले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले डेंगी संक्रमितको उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आवश्यक प्रवन्ध गरिएको बताउँदैं नगरका अन्य नीजि अस्पतालहरुले पनि डेंगीको उपचारका लागि विशेष व्यवस्था गर्न आग्रह गर्नुभयो ।
छलफलमा डेंगी रोगको बारेमा प्रस्तुतीकरण गर्दै स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत दिपक अछामीले भक्तपुरमा डेंगी संक्रमितको संख्या ६३८ पुगेको जानकारी दिनुभयो । उहाँले असोजको पहिलो दुई साता डेंगीको संक्रमणको जोखिम उच्च भएको बताउँदैं करिव ७० प्रतिशत नागरिक डेंगीको जोखिममा रहेको जानकारी दिनुभयो ।


“अहिलेको मौसम लामखुट्टेका लागि अति उत्तम मौसम रहेको छ । त्यसकारण अबको दुई साता संक्रमणको उच्च जोखिम रहेको छ,” उहाँले भन्नुभयो । उहाँले नेपालमा अहिलेको अवस्थामा भक्तपुर संक्रमणको दृष्टिले पाँचौं उच्च जोखिमयुक्त जिल्ला भएको जानकारी दिँदैं स्वास्थ्य कार्यालयले महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्य चौकीलगायतका जनशक्ति परिचालन गरी डेंगी सम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको बताउनुभयो ।
डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट सर्दछ । यो लामखुट्टेले थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ । यसले सफा र जमेको पानीमा फुल पार्ने भएकाले पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने, पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्ने, काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्नुपर्ने अछामीले बताउनुभयो ।
एडिज जातको लामखुट्टे साँझ सुर्यास्त हुनुभन्दा दुई घण्टा अघि र बिहान सुर्योदय भएपछिको दुई घण्टाको समयमा बढी सक्रिय हुने र यसले यही बेला बढी टोक्ने भएकाले सो समयमा थप सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले लामखुट्टेको संक्रमण बढ्न नदिन घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने गर्नुपर्ने सुझाव दिनुभयो ।
छलफलमा मध्यपुर थिमि नगरपालिकाका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य क्लिनिकका प्रतिनिधिहरुले सचेतना कार्यक्रमसहित लार्भा नष्ट गर्ने क्रममा स्थानीयले पानी फाल्न नदिएको, कहीँ घर मालिक नभेट्ने समस्या देखिएको जानकारी दिएका थिए ।
त्यस्तै नगरभित्रका अस्पतालका प्रतिनिधिहरुले अस्पतालमा डेंगी संक्रमितको अवस्था, उपचारको व्यवस्था, औषधीलगायत आवश्यक स्वास्थ्य सामग्रीको मौज्दातलगायतको जानकारी गराएका थिए ।
त्यस्तै छलफलमा सहभागीहरुले सचेतना कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न अभियानलाई बिहान बेलुकी सञ्चालन गर्नुपर्ने, विषादीले स्वास्थ्यमा पार्ने असरका बारेमा नागरिकलाई सचेत पार्नुपर्न, अस्पतालहरुमा डेंगीका लागि छुट्टे वार्डको व्यवस्था गर्नुपर्ने, अस्पतालमा हेल्प डेस्कको स्थापना गर्नुपर्ने, स्थानीय तहले ऐन निर्माण गरेर भएपनि आवश्यक सरसफाई नगर्ने व्यवसायीलाई दण्ड जरिवानाको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।
छलफलमा जिल्ला समन्वय समितिका उपप्रमुख सुजाता बाडे, नगरपालिकाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न अस्पताल र नगरका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य क्लिनिकका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।