चिनिया जनकंग्रेसका अध्यक्ष लीद्धारा भक्तपुरका सम्पदा अवलोकन

भक्तपुर, भाद्र २९
नेपाल भ्रमणमा रहेको चिनिया जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुुले बुधवार भक्तपुर दरवार स्क्वायर क्षेत्रको अवलोकन गर्नुभएको छ । प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाको निमन्त्रणमा चार दिने नेपाल भ्रमणमा आउनुभएका लीले भक्तपुरमा २०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएका सम्पदाहरुको अवलोकन गर्नुभएको हो ।
अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खौमास्थित भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा स्वागत गर्नुभएको थियो । ली नेतृत्वको करिब ७० जनाको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित रामेश्वर मन्दिर, द्वारिकानाथ मन्दिर, बसन्तपुर दरबार, केदारनाथ मन्दिर, राष्ट्रिय कला संग्रहालय भवन, लुँ ध्वाका, पच्पन्न झ्याल दरबार, वत्सला मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, लापां देग, तब सत्तल, सिलु महादेव मन्दिर, चर्तुब्रम्ह महाविहारबाट पैदल यात्रा गर्दै टौमढीको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको निकै रुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।


प्रतिनिधिमण्डल टोलीको स्वागतमा केदारनाथसँगैको डबलीमा भैलः प्याखं प्रदर्शन गरिएको थियो । लीले भक्तपुरको प्रख्यात भैलः प्याखंलाई अत्यन्त चासो लिएर अवलोकन गर्नुभएको थियो ।
अवलोकनपछि अध्यक्ष लीले भक्तपुरको सम्पदाहरु अवलोकनबाट आफू प्रभावित भएको बताउँदैं भक्तपुरको न्यानो स्वागत अविस्मरणीय रहने बताउनुभयो । उहाँले चीनमा पनि सयौं वर्ष पुराना संस्कृतिहरु जीवन्त रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले अध्यक्ष लीलगायतको टोलीलाई भक्तपुरमा स्वाग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अवसरहरु प्राप्त हुने आशा व्यक्त गर्नुभयो ।


टोलीको स्वागतमा सांसद सुवाल, बागमती प्रदेश सभा सदस्यद्वय सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ल अधिकारी रुद्रादेवी शर्मा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु उपस्थित थिए ।