भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो

भक्तपुर, भाद्र २९

ईन्द्रजात्राको अन्तिम दिन बुधवार भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न भएको छ । स्थानीय लाकुलाछेंटोलबाट शुरु गरिएको पुलुकिसी जात्रा बुलुचा, नासमना, बंशगोपाल, इटाछे, खौमा, दरवारस्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुजमारी, तचपाल, इनाचो, गोल्मढी, तिबुक्छें लगायतका स्थानमा परिक्रमा गरिएको थियो ।

पुलुकिसी जात्रा गर्नुपुर्व गुठी संस्थाबाट तमारीको भैरवनाथलाई विधिवत रुपमा बली सहितको पूजा गरिन्छ । पुजा सकेपछि स्थानीय तल्लो टोलको तेखाचोका मानंन्धर समुदायले भैरवनाथको मन्दिरबाट सुकुण्डा बालेर आएपछि बुलुचास्थित चखुन्चा फल्चा(पाटीको नाम)तिर अभिमुख गरी एक जोडा याँमता(आकाश दिप)बाल्छ । बालिसकेपछि भैरवनाथको मन्दिरमा झुण्डाइराखेको पुलुभैलद्योः(मान्द्रोमा चित्रित मसान भैरव)लाई नायखिङ (खड्गी समुदायको विषेश) बाजा बजाएर राँगोको आन्द्राको माला लगाई विधिवत पुजा गरिन्छ । यस पुजा सम्पन्न गरेसँगै अगाडि याँमता र पछाडी नायखिङ बाजा बजाएरु पुलुभैलद्योःको जात्रा शुरु गरिन्छ ।

यो जात्रा गरेसँगै भक्तपुरको लाकुलाछें टोलका स्थानियहरुले बा“सको मान्द्रो माथि निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सु“ढ राखी तयार गरिएको पुलुकिसीलाई चार जना मानिसले बोकेर एक जना पुलुकिसीको भित्रबाट घण्टा बजाएर पुलुकिसी तानाङ तानाङ गरी आकाश भैरव मन्दिर अगाडी तीन पटक घुमेर जात्रा शुरु गरिन्छ । जात्राको क्रममा पुलुकिसीलाई बाटो देखाउन स्थानीयहरुले छ्वाली बालेर अगाडी जाने चलन छ ।

देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीको रुपमा लिइने पुलुकिसीलाई बंशगोपाल, ईटाछें, चोछें, भोलाछें लगायतका दोबाटो चौबाटोमा धान खुवाउने, ठाउँ ठाउँमा ओहोरदोहर गराउने, टौमढी, दरवार स्क्वायर र तचपालको डबलीमा आगो तपाउने, सुर्यमढीको तला तुन्छी (इनार)मा पानी खुवाउने परम्परा रहेको छ । जात्रामा पुलुकिसीको सुढंले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वास अनुसार पुलुसिकी आउ“दा सुंढले छुन्छकी भनी स्थानीयहरु परपर भाग्ने गर्दछ ।

जात्राको क्रममा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै बात नलाग्ने भएकाले पुलुकिसी जात्रा नगरको आधा भन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा निकाल्ने गरिन्छ । यस दिन भैरवनाथको मुख्यद्धारबाट मुपात्र जात्रा निकाल्ने परम्परा छ । मुपात्र जात्रा निकालेसँगै भक्तपुरमा तीन दिन मनाईने मुपात्र र याँमता जात्रा सम्पन्न गरिन्छ ।

देवीपुराण गन्थ्र अनुसार इन्द्रजात्रासँग सम्वन्धित यस पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिडेको सम्झनामा मनाइने गरेको इतिहास सँस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।