सुनका गरगहना लुटपाट गर्ने गिरोहका ६ जना पक्राउ

भक्तपुर, भाद्र २८
भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानमा बटुवाको सुनका गरगहना लुटपाट गर्ने सो सुन खरिद गरी बिक्रि वितरण गर्ने गिरोहलाई भक्तपुर प्रहरीले पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा सुन खरिद गर्ने भारतीय नागरिकसहित सुन गाल्ने एक जना र लुटपाटमा संलग्न चार जना छन । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा गरगहना लुटपाटमा संलग्न काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ९ का २२ वर्षिय बुद्ध तामाङ, उदयपुरको त्रियुगा नगरपालिका–७ का २३ वर्षिय विशाल राई, सिन्धुलीको मरिन गाउँपालिका ५ का २० वर्षिय आर्यन माझी, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ३ का २१ वर्षिय सुदिप भण्डारी छन ।
त्यस्तै सुन गाल्ने कार्यमा संलग्न मोरङको शनिश्चरे नगरपालिका ८ का ४० वर्षिय चन्द्रबहादुर वि.क.र लुटिएका सुनका गरगहना खरिद गरी बिक्रि गर्ने भारत महाराष्ट्रको सिङ्ली जिल्ला घर भई काठमाण्डौं महानगरपालिका ७ बस्ने ३५ वर्षिय अमोल भोसलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनीहरुले विगत लामो समयदेखी सुनका गरगहना लगाएका व्यक्तिहरुलाई पिछा गरी एकान्तमा परेको मौका पारी लुटपाट गर्ने गरेको परिसरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । प्रहरीले उनीहरुको साथबाट दुई वटा मोटरसाइकल र करिव दुई तोला समेत बरामद गरेको छ ।
उनीहरुलाई प्रहरी वृत्त थिमिको टोलीले काठमाण्डौंको चावहिललगायतका स्थानबाट पक्राउ गरिएको प्रनाउ पाण्डेले बताउनुभयो । लुटपाटमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको छ ।