कांग्रेस सभापति दुर्लभ थापा कार्यकर्ता भेटघाटमा व्यस्त

भक्तपुर, भाद्र २८
आसन्न मंसिर ४ गतेको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारका आकांक्षी नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कार्यकर्ता भेटघाटलाई तिब्रता दिनुभएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई भक्तपुर जिल्लाको पहिलो दल बनाउन सफल थापाले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जित दिलाउन तयारी स्वरुप वडा वडामा पुगेर कार्यकर्ता भेटघाटलाई तिब्रता दिनुभएको हो ।
थापाले सोमवार सूर्यविनायक नगरपालिका १ सिरुटारमा कार्यकर्तासँग अन्तरक्रिया गर्नुभएको थियो भने मंगलवार वडा नं. ८ सिपाडोलमा कार्यकर्तासँग भेटघाट गर्नुभएको छ । सो अवसरमा उहाँले स्थानीय स्तरमा भएका विकास निर्माणका समस्या, स्थानीय आवश्यकता र पार्टीका कार्यकर्ताको धारणा बुझ्नु भएको बताईएको छ ।


सो अवसरमा उहाँले भक्तपुरको विकासको आधार नेपाली कांग्रेसले तयार गरेको दावी गर्नुभयो । “२०४९, २०५५ सालको स्थानीय निर्वाचनमा जित हासिल गरेका नेपाली कांग्रेसका जनप्रतिनिधिहरु र २०७०, २०४८, २०५६ सालमा कांग्रेसबाट भक्तपुर क्षेत्र नं. २ मा निर्वाचित भएका सांसदहरुले खडा गरेको विकासका मोडल र आधारमा टेकेर केही योजना सञ्चालन गर्दैमा कसैले विकासको मसिया हुँ भन्ने घमण्ड नगरे हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले सिपाडोलको विकासमा विगतमा निर्वाचन जितेका नेपाली कांग्रेसका नेता विदुरमानसिंह बस्नेतको ठूलो भूमिका रहेका बताउनुभयो । डोलेश्वरलाई विश्वसामु चिनाउन समेत बस्नेतको अहम् भूमिका रहेको बिर्सन नहुने बताउँदैं उहाँले भन्नुभयो, “सिपाडोलमा विकास पुर्वाधार खन्ने मात्र होइन आज डोलेश्वरसँगै सिपाडोल नेपालभरी मात्र होइन हिन्दु धर्मप्रति आस्था राख्ने विश्वभर चिनाउन बस्नेतकै भूमिका छ ।”


उहाँले कांग्रेसका नेता र जनताबीच अन्तरक्रिया भेटघाट पातलो हुनुमा केही कर्मीकमजोरी भएको स्विकार गर्दै यसलाई नेता कार्यकर्ता सबैले सच्याएर अघि बढ्नुपर्ने खाँचो रहेको बताउनुभयो । आगामी मंसिर ४ गतेको निर्वाचनको टिकटको दौडमा जो पहिलो भएपनि कांग्रेस र रुख चिन्हको उम्मेदवार हुने भएकाले सबै एकजुट भई जनतामाझ गई कांग्रेसका उम्मेदवारलाई विजयी बनाउने कार्यमा अहिले देखी खटिन निर्देशन समेत दिनुभयो । थापाले कार्यकर्ता भेटघाट कार्यक्रमलाई जिल्लाभरी लैजाने जानकारी दिनुभयो ।