विरेन्द्रले दोस्रो पटक जिब्रो छेडाएपछि थिमिको येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा सम्पन्न

भक्तपुर, भाद्र २६
मध्यपुर थिमि–५ का विरेन्द्रभक्त श्रेष्ठले शनिवार दोस्रो पटक जिब्रो छेडएका छन । येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा अन्तर्गत श्रेष्ठले दोस्रो पटक जिब्रो छेडाएर मध्यपुर थिमिको जात्रालाई निरन्तरता दिएका हुन ।
मध्यपुर थिमिमा ईन्द्रजात्राको बेला आश्विन शुक्ल पुर्णिमाको दिन येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा सञ्चालन हुँदैं आएको छ । आर्थिक अभावका कारण निरन्तर सञ्चालन हुन नसकेको यो जात्रा ११ वर्षपछि २०७४ मा पुनः सञ्चालनमा आएको हो । २०७४ मा पनि उनै विरेन्द्रले जिब्रो छेडाउन तयार भएपछि जात्राले पुर्नजिवन पाएको थियो । २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाए । २०७६ मा जात्रा सञ्चालन हुन सकेन भने २०७७ र ०७८ मा कोरोना महामारीका कारण जात्राले निरन्तरता पाउन सकेको थिएन । यसपटक पुनः विरेन्द्र जिब्रो छेडाउन तयार भएपछि जात्रा पुनःसञ्चालन भएको हो ।
मध्यपुर थिमि नगरपालिका ५ स्थित दिगुलीमा रहेको प्रचण्डा भैरव मन्दिर अघिको डबलीमा विरेन्द्रले हजारौं जात्रालु र जात्रा हेरालुकोबीच करिव एक फिट लामो सियोले जिब्रो छेडाएका थिए । कर्मी नायोले विरेन्द्रको जिब्रो छेडेलगत्तै उपस्थित सबैले उहाँको जयजयकार गरेका थिए ।


जिब्रो छेडेपछि विरेन्द्र भ्यं (महादिप) बोकी नगर परिक्रमा गरेका थिए । यो जात्राको निश्चित रुट तय छैन । जिब्रो छेडाएका व्यक्तिको ईच्छा अनुसारको भाग परिक्रमा पछि बालकुमारी मन्दिर प्रांगणमा पुगेर जात्रा सम्पन्न हुने परम्परा यो जात्राको रहेको मध्यपुर थिमिका संस्कृतिकर्मी प्रदिप जामन श्रेष्ठले बताउनुभयो ।
जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा स्थानीय व्यक्तिहरु पनि ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ । नगर परिक्रमापछि बालकुमारी मन्दिरमा पुगी कमीनायोले सुइरो निकालेर जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ । अनि सुईरोलाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ । बालकुमारी मन्दिर परिसरमा सुईरो निकालिसकेपछि जिब्रो छेड्ने व्यक्तिले घर गई मान्यजनबाट सगुन लिन्छ ।
जिब्रो छेडेर नगर परिक्रमा गराए देशमा दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दाहरुलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनताहरुलाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुईरोले जिव्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको भन्दै भागेको जनश्रुति रहेको छ ।