विभिन्न स्थानीय तहका नगर प्रमुख तथा उपप्रमुखहरु भक्तपुर भ्रमणमा

भक्तपुर, भाद्र २६
काठमाण्डौं महानगरपालिका र उ सँग भगिनी सम्बन्ध भएका नेपालका विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख तथा विदेशी पाहुनाहरुको टोलीले शनिवार भक्तपुर नगरपालिकाको अवलोकन भ्रमण गर्नुभएको छ ।
काठमाण्डौं महानगरपालिकाको निमन्त्रणमा ईन्द्रजात्रा अवलोकनका लागि आएका नगर प्रमुख, उपप्रमुख र विदेशी पाहुनाहरुले महानगरकै नेतृत्वमा भक्तपुरको अवलोकन गर्नुभएको हो । उहाँहरुले भक्तपुर दरबार स्क्वायर क्षेत्र, पाँचतले मन्दिर हुँदै दत्तात्रय मन्दिर क्षेत्र सम्म पदयात्रा गरी सम्पदाहरुको स्थलगत अवलोकन गर्नुभएको हो ।


भ्रमण टोलीमा काठमाडौं महानगरपालिका, बिराटनगर महानगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, धनकुटाको पाख्रीबास नपा, डडेलधुराको अमढरगढी नपा र विदेशी पाहुनाहरु नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफ तथा महानगर तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलगायत ७५ जना सहभागि थिए ।
सो टोलीलाई स्वागत गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफुहरुले वैज्ञानिक समाजवादप्रति आस्थावान भई मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक अनुदान दिने, विकास निर्माणमा जनसहभागिता बढाउने र सम्पदा संरक्षणमा उल्लेखनीय कार्यहरु गर्दै संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख बाटोतर्फ अगाडि बढिरहेको बताउनुभयो ।


उहाँले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले देख्नुभएको १०० वर्षपछिको भक्तपुरको आधारहरु निर्माण गरिरहेको पनि सो अवसरमा बताउनुभयो ।
जनप्रतिनिधिहरुबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुने बताउँदैं उहाँले जनतासँग नजिकमा बसेर काम गर्ने स्थानीय सरकारहरुले निर्वाचनको समयमा दिएको वचनअनुसारको काम इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिनुभयो । “आत्मनिर्भरतालाई जोड दिएर विदेशीको सहयोगलाई अस्वीकार गर्दै जनताको साथ र सहयोगमा भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार भइरहेको छ,” उहाँले भन्नुभयो । उहाँले जुनसुकै काम ठेक्कामार्फत गराउनुपर्ने कानुनी व्यवस्थाले राज्य कमजोर र व्यक्ति बलियो हुँदै गइरहेको बताउनुहुँदै निर्वाचन विचारको प्रतिस्पर्धा हुनुपर्नेमा धन र डनको प्रतिस्पर्धा हुनु बिडम्बनाको विषय भएको बताउनुभयो ।


भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको संक्षिप्त प्रस्तुतीकरण देखाउनुहुँदै कला संस्कृतिमा धनी भक्तपुर नगरलाई विश्वकै हेर्न लायक सहरको रुपमा विकास गर्न नगरपालिका अग्रसर रहेको बताउनुभयो ।
सो अवसरमा काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाईबाट आफू निकै प्रभावित भएको बताउँदैं ठेक्कापट्टाबाट हुने सम्पदा निर्माण र विकास निर्माणका गतिविधिहरुको नियमित अनुगमन हुनुपर्ने धारणा राख्नुभयो ।
विदेशीको सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणको रुपमा रहेको बताउँदैं उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरिनुपर्ने र जनताको आधारभूत आवश्यकतामा पर्ने विषयहरुको जिम्मा राज्यको हुनुपर्नेमा जोड दिनुभयो ।


बिराटनगरका महानपाका प्रमुख नागेश कोइरालाले महानपा—नपाबीचको समन्वय र सहकार्य आगामी दिनहरुमा अझ प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो । मूर्त र अमूर्त सम्पदाहरु काठमाण्डौं उपत्यकाको विशेषता नै रहेको बताउँदैं उहाँले भक्तपुर र बिराटनगरबीच कृषि क्षेत्रमा समानता रहेको बताउनुभयो ।
भ्रमण टोलीमा काठमाण्डौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, काठमाडौं महानपासँग भगिनी सम्बन्ध भएका जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायत, उपप्रमुख रामदेवी खड्का, नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव र उपप्रमुख सम्झना चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधान, धनकुटाको पाख्रीबास नपाका प्रमुख ज्ञानबहादुर गुरुङ र उपप्रमुख नम्रता गौतम, डडेलधुराको अमरगढी नपाका प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल र नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफलगायतको उपस्थिति थियो । भ्रमण टोलीको स्वागत कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य र कर्मचारीहरुको उपस्थिति थियो ।