गठबन्धनले सिट बाँडफाँड छिट्टै टुंग्याउँछ – उपसभापति खड्का

भक्तपुर, भाद्र २४
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनले सिट बाँडफाँड छिट्टै टुंगोमा पुर्याउने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरको प्रशिक्षण शाखाले शुक्रवार राधेराधेमा आयोजित प्रशिक्षण कार्यक्रममा उपसभापति खड्काले सबै परिवेशलाई साक्षी राखेर बढी भन्दा बढी उपलब्धी हासिल हुनेगरी गठबन्धनको सिट बाँडफाँड हुने बताउनुभयो ।
उहाँले के पी शर्मा ओलीको अधिनायकवादी चरित्र विरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठन भएको गठबन्धनलाई थप मजबुद बनाउन पनि सिट बाँडफाँडमा सबै दल लचिलो भएर प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकता, एमसीसीको कार्यान्वयन, शान्ति प्रक्रियाको बाँकी काम पुरा गरी देशलाई समृद्ध बनाउन र आर्थिक विकासका लागि पनि गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्ने बताउनुभयो ।
उहाँले गठबन्धनका कारण कांग्रेसले चाहेर पनि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउन नसकिने अवस्थालाई सबै कांग्रेसीले बुझ्नु पर्ने बताउनुभयो । उहाँले कांग्रेसको रहरले गठबन्धन नभएको प्रष्ट पार्दै हिजोको निर्वाचन परिणामले गर्दा पनि कांग्रेसलाई गठबन्धनमा जानुपर्ने बाध्यता परेको बताउनुभयो ।


“गठबन्धन कुनै परिवेश भएको छ । बाध्यकारी अवस्थामा गठबन्धन सरकारको नेतृत्व कांग्रेसले लिनु परेको छ,” उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा यही विषयलाई जनता समक्ष लिएर जानुपर्छ ।”
महामानव वि पी ले वास्तविक समाजवाद पढाएर जानुभएको चर्चा गर्दै खड्काले कांग्रेसले सधैं पार्टीको विधान, विचार र सिद्धान्त अनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रशिक्षणबाट सिकेका ज्ञानलाइृ आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताको घरदैलोसम्म पुर्याउन निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा जस्तै आगामी मंसिर ४ गतेको निर्वाचनमा पनि भक्तपुरमा कांग्रेसको विजयको झण्डा फरफराउने र कांग्रेसलाई जिल्लामा एक नम्बरको पार्टी बनाउने उद्घोष गर्नुभयो । उहाँले पार्टीका नेता कार्यकर्ता इमान्दार भएर अघि बढे भक्तपुरमा कांग्रेसलाई हराउने कसैको ताकत नभएको दावी समेत गर्नुभयो ।
“सबै ईमान्दार हुनु पर्यो । चित्त नबुझेका विषयमा छलफल गर्न सकिन्छ । आगामी निर्वाचनमा कांग्रेस ईमान्दारीपूर्वक एक ढिक्का भएर अघि बढे भक्तपुरमा कांग्रेसको जित सुनिश्चित छ,” उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् भक्तपुरका लागि केन्द्रीय प्रतिनिधि अम्बिका बस्नेतले लोकतन्त्र बचाउन कांग्रेस आवश्यक छ भन्ने तथ्य जनताले बुझिसकेको बताउँदैं जनता सँग कांग्रेस अभियानले कांग्रेस र जनताको सम्बन्ध थप मजवुद बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले ठूलो पार्टीमा धरै नेता भएको दलमा केही केही मनमुटाव हुन सक्ने र त्यस्तो भएतापनि निर्वाचनका बेला तितामिठा सबै विषय थाँती राखेर, गाँठो पारेर निर्वाचनमा एकजुट भएर लाग्र्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस जिल्ला उपसभापति एवम् जिल्ला प्रशिक्षण शाखाका संयोजक विजेश अवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बागमति प्रदेशका महामन्त्री कञ्चन बाडे, उत्तम मल्ललगायतले प्रशिक्षणले कांग्रेसको ईतिहास, मुलुकका लागि गरेको योगदान, कांग्रेसले गरेका विकास निर्माण र आर्थिक नीतिका बारेमा कार्यकतामार्फत जनतालाई सू–सुचित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षणमा नेपाली कांग्रेस भक्तपुरको क्षेत्रीय, प्रदेश सभा क्षेत्रीय, नगर र वडा सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरु र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको जिल्ला उपसभापति एवम् प्रशिक्षण शाखा प्रमुख विजेश अवालले बताउनुभयो ।
प्रशिक्षणमा सहभागीहरुलाई योजना आयोगका पुर्व उपाध्यक्षद्धय डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसको सरकारले गरेका विकास निर्माणका योजना र विकासका अवधारणाका बारेमा प्रशिक्षण दिनेछन ।