प्रजातन्त्र सेनानी कायस्थलाई ‘बी.पी. कोइराला सेनानी’ सम्मान

भक्तपुर, भाद्र २४
जननायक बी.पी कोइराला स्मृति ट्रष्टले भक्तपुरका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई ‘बी.पी. कोइराला सेनानी’ सम्मानबाट सम्मान गरेको छ । ट्रष्टले बिहिवार आयोजित विपी साहित्य सम्मान एवं विपी सेनानी सम्मान तथा स्मृति लोकार्पण कार्यक्रममा कायष्थसँगै शान्ति कार्की र प्राध्यापक कृष्णप्रसाद गौतमलाई सम्मान गरेको हो ।
कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले सम्मानीत तीनै जनालाई सम्मान गर्नुभएको थियो । नेपाली कांग्रेस भक्तपुरका पुर्व जिल्ला सभापति समेत रहनुभएका कायष्थलाई लामो समयसम्म प्रजातन्त्र स्थापनाका लागि गरेको संघर्ष र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको कदर गर्दै ट्रष्टले वि पीको जन्म जयन्तीको अवसरमा सम्मान गरेको हो । कायष्थले प्रजातन्त्र स्थापनाका लागि लामो समय जेल जीवन बिताउनुका साथै निर्वासनमा समेत बस्नु परेको थियो ।
यस्तै ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको वि पी साहित्य सम्मान पुरस्कार यसपटक आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि मदन रेग्मीलाई प्रदान गरेको छ । पाँच दशकदेखि साहित्य साधनामा रहेर नेपाली काव्य साहित्यमा महत्वपूर्ण योगदान पुर्याएको कदर स्वरुप रेग्मीलाई पुरस्कृत गरिएको हो । कवि रेग्मीका कविता संग्रहहरु र अरु धेरै साहित्यिक कृतिहरु प्रकाशित छन् । पुरस्कारको राशी नगद एक लाख एक हजार र सेनानी पुरस्कार एकाउन्न हजार रहेको छ ।
उक्त कार्यक्रममा विभिन्न पुस्तक समेत विमोचन गरिएको थियो । विमोचन भएका पुस्तकमा लेखक डा. साधना पन्तको विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा नारीवादी चिन्तन, लेखक श्रीमती लिला रानाका ऐ पाहुनी, बामरी फूल, बामरी सार रीलीङ, झुरुम (मगरभाषामा) छन ।
कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपाली कांग्रेस रामराम भन्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले अहिले गठबन्धनको नाममा कांग्रेसले अंशवण्डाको राजनीति गरिरहेको भन्दै असन्तुष्टि पोख्नुभयो । “हामी कोहीमा छैन । कांग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेका छौँ हामी । जनताको बीचमा जान पनि अरू पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ । राम, राम, राम । कांग्रेसका बारेमा रामराम भन्ने बेला भइसकेको छ,” उहाँले भन्नुभयो, “जय नेपाल स्वीकार गर्नुस्, एकजनाले पनि स्वीकार गर्नुभएन । चित्त दुखेर नबोलेका हुन् ।”
संस्थाका अध्यक्ष पुरुषोत्तम बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पुर्व महामन्त्री एवम् सांसद डा. शषाङक कोइराला, ट्रष्टका महासचिव रामचन्द्र पोखरेललगायतले वि पी चिन्तन र साहित्यका बारेमा चर्चा गर्नुभएको थियो ।