मनोहरा मिनि कोशीटप्पुमा भेटियो दुर्लभ चरा ‘ठूलो कस्दरी’

भक्तपुर, भाद्र २३
मध्यपुर थिमि ८ बोडेस्थित मनोहरा मिनि कोशीटप्पुमा ठूलो कस्दरी चरा भेटिएको छ । वन्यजन्तु तथा पन्छीहरुको खोजमा संलग्न प्रकृतिप्रेमी फोटोग्राफरहरु सञ्जय था श्रेष्ठ, युविन श्रेष्ठ र दिपक बुढाथोकीको समूहले बुधवार काठमाण्डौं उपत्यकामै पहिलो पटक मनोहरा क्षेत्रमा दुर्लभ पन्छी कस्दरी फेला पारेको हो ।
मनोहरा मिनि कोशीटप्पु क्षेत्रमा विभिन्न प्रजातिका पशुपन्छीको बासस्थान रहेको क्षेत्र हो । सो क्षेत्रमा मध्यपुर थिमि बोडेका स्थायी बासिन्दा समेत रहेका सञ्जयको टोलीले लामो समयदेखी निरन्तर चरा अवलोकनका साथै चराहरुलाई तस्विरमा कैद गर्दै आएका छन । सोही क्रममा सञ्जयको टोलीले पहिलो पटक कस्दरी फेला पारेको हो ।


कस्दरी चरा नेपालमा पहिलो पटक सन् १९३८ मा अभिलेख भएको हो । फ्रान्क यम वेलीले सन् १९३८ को फेब्रुअरीमा मोरङमा नेपालका लागि पहिलो पल्ट अभिलेख गरेको थियो ।
सन् २०१६ सम्म फिरन्ते प्रजातिका रूपमा देखिएको यो कस्दरी वाँकेको नेपालगञ्जमा एक पटक र धेरै जसो अभिलेख चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा गरिएको पन्छी प्रेमी फोटोग्राफर सञ्जयले बताउनुभयो । कोशी वर्ड अब्जरभेटरी तथा प्रकाशपुर क्षेत्रमा समेत भेटिएको कस्दरी चरा नेपालका संकटापन्न पंछीहरुको रातो कितावमा उल्लेख गरिएको छ ।

तस्वीर – बन्यजन्तु फोटोग्राफर संञ्जय था श्रेष्ठ