जनमानसमा भ्रम उत्पन्न हुने समाचार सम्प्रेषण गर्नु हुँदैन – नगरप्रमुख श्रेष्ठ

भक्तपुर, भाद्र १७
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पत्रकारहरुले जनमानसमा भ्रम उत्पन्न हुने खालका समाचार सम्प्रेषण गर्न नहुने बताउनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दवू भक्तपुर शाखाको नवौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा प्रमुख श्रेष्ठले समाचार सत्यतथ्यमा आधारित हुनुपर्ने बताउँदैं जनमानसमा भ्रम उत्पन्न हुने खालका समाचार सम्प्रेषण गर्न नहुनेमा जोड दिनुभएको हो ।
“समाचार सत्यतथ्यमा आधारित हुनुपर्छ । पत्रकारहरुले समाजमा नकारात्मक प्रभाव पार्ने भन्दा पनि सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
उपत्यकाका सबै नगरपालिका फोहोर व्यवस्थापनको सवालमा साझा अवधारणा बनाएर उपत्यकाको फोहोर उपत्यकामै व्यवस्थापन गर्ने वैकल्पिक उपायको खोजीमा समेत एकजुट भएर लागी परेको उहाँले बताउनुभयो ।


मध्यपुर थिमिमा सञ्चालन भइरहेको कुहिने फोहोरबाट प्रांगारिक मल उत्पादन गर्ने रिकिसी प्रविधि एउटा वैकल्पिक उपाय भएपनि मध्यपुर थिमिको हकमा भने उपयुक्त नदेखिएको उहाँले दावी गर्नुभयो । रिकिसीले हाल मध्यपुर थिमि वडा नं. ४ को करिव ३ सय घरको कुहिने फोहोर हप्ताको एक दिन मात्र उठाएर मल उत्पादन गरिरहेको र त्यसको लागि नै करिव ५ रोपनी क्षेत्रफल ओगटेको अवस्थामा नगरभित्रको सबै कुुहिने फोहोर संकलन गरेर मल बनाउन सयौं रोपनी क्षेत्रफल आवश्यक देखिएकोले सो प्रविधि राम्रो भएपनि मध्यपुर थिमिको हकमा उपयुक्त नदेखिएको उहाँको भनाई थियो ।
अनधिकृत संरचना हटाउने सम्बन्धमा नगरपालिकाले हालै जारी गरेको ३५ दिने सूचनाको बारेमा स्थानीयका साथै धेरै सञ्चारकर्मीहरुले समेत चासो दिएको बताउँदैं उहाँले मध्यपुर थिमिमा काठमाण्डौंमा जस्तो ठूला समस्या नभएपनि भविष्यमा त्यस्तै समस्या नआओस भनेर अहिले नै नगरका मूख्य सडक, चोक, सम्पदा क्षेत्रमा भइरहेको अव्यस्थित पार्किङ, ठेलागाडा राखी सडक पेटीमा हुने व्यापार व्यवसायलाई नियन्त्रण गर्न सूचना जारी गरेको जानकारी दिनुभयो ।
मध्यपुर थिमिका उपप्रमुख विजयकृष्ण श्रेष्ठले कार्यकाल शुरु भएको सय दिनमा सम्पदा क्षेत्रको संरक्षण, शिक्षा स्वास्थ्यको सुधार, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापकिय सुधारका कार्यक्रम शुरु गरेको जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा र स्वास्थ्य उपचार सेवा, स्वबासी जग्गा धनी पुर्जा वितरण, स्वास्थ्य सेवाको बिस्तार, नगरपालिका सञ्चालनका लागि आवश्यक नीति निर्माण सय दिनको उपलब्धी हो,” उहाँले भन्नुभयो ।


उहाँले सञ्चारकर्मीहरुले कहिले काँही पक्षपाती भएर समाचार सम्प्रेषण गर्ने गरेको दुःखेसो पोख्दै राम्रो कामलाई राम्रो र नराम्रोलाई यो यो कारणले यस्तो भएको हो भनी सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । “पत्रकारहरुले दलिय स्वार्थ नराखी यथार्तको धरातलमा उभिएर समाचार सम्प्रेषण गर्नुपर्छ । यदी त्यसो नगर्ने हो भने जनताले गलत समाचार पाउँछन,” उहाँले भन्नुभयो, “जनतालाई सू–सुचित बनाउने, अधिकार दिलाउने, दबिएर रहेको आवाजलाई बाहिर निकाल्ने काम पत्रकारिताको हो । पत्रकारले सही ढंगले काम गर्न सकेन भने आम मानिसलाई अधिकार दिलाउने र न्याय दिलाउने काम पछि पर्नसक्छ ।”
कार्यक्रममा राष्ट्रिय विभुती शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष एवम् अग्रज पत्रकार ज्ञानराम श्रेष्ठ, नेवाः पत्रकार राष्ट्रिय दवूका केन्द्रीय सचिव के के मानन्धर, नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यबहाक अध्यक्ष सुन्दर शिल्पकार, दवूका भक्तपुर अध्यक्ष रामगोपाल तमखू, दवूका केन्द्रीय सह कोषाध्यक्ष बाबुकाजी साँछें श्रेष्ठलगायतले पत्रकारिता क्षेत्रको विविध पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।