पत्रकार प्रजापति पुरस्कृत, तमाखू पुनः दवूको अध्यक्ष चयन

भक्तपुर, भाद्र १७
नेपाल भाषाको पत्रकारिता क्षेत्रमा करिव तीन दशकदेखी निरन्तर सक्रिय रहनुभएका भक्तपुरका पत्रकार कृष्ण प्रजापति शुक्रवार पुरस्कृत हुनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दवू भक्तपुर शाखाको नवौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनको अवसरमा पत्रकार प्रजापति ‘स्व. हरिलाल र श्रीलक्ष्मी श्रेष्ठको स्मृति पत्रकारिता पुरस्कार’ द्धारा पुरस्कृत हुनु भएको हो ।
राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ फोटो पत्रकार रत्न श्रेष्ठले आफ्ना स्वर्गिय बुबा हरिलाल र आमा श्रीलक्ष्मी श्रेष्ठको स्मृतिमा स्थापना गरेको सो पुरस्कारको राशी नगद १० हजार रुपैंया रहेको छ ।
पुरस्कृत पत्रकार प्रजापतिलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले ताम्रपत्र, उपप्रमुख विजयकृष्ण श्रेष्ठले दोसल्ला ओढाई र पुरस्कारका दाता रत्न श्रेष्ठले नगद राशी हस्तान्तरण गरी पुरस्कृत गरिएको थियो ।


यसैबीच अधिवेशनले रामगोपाल तमखुको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सुरेश ख्वाकः श्रेष्ठ, सचिव देवेन्द्र प्रजापति, कोषाध्यक्ष चन्द्र कृष्ण (गोपाल) श्रेष्ठ चुनिएका छन भने सदस्यहरूमा श्यामकुमार था श्रेष्ठ, प्रकाश मल्ल, हरिसुन्दर छुंका, रेणु त्वानावासु र विरेन्द्र खाइजु रहेका छन ।