भक्तपुर क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ को उम्मेदवार बन्न कांग्रेसका १७ जनाको दावी

भक्तपुर, भदौ १७
बागमति प्रदेशका भौतिक योजना मन्त्री कृष्णलाल भँडेलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ को प्रदेश सभा क बाट समानुपातिक उम्मेदवार बन्ने आकांक्षा व्यक्त गनुृभएको छ । नेपाली कांग्रेस बागमति प्रदेश सभाका संसदिय दलका उपनेता समेत रहनुभएका मन्त्री भँडेलले कांग्रेसको प्रदेश सभा १ क कार्यालयमा समानुपातिक उम्मेदवार बन्ने आकांक्षासहितको आवेदन दिनुभएको हो ।
भँडेल यसअघि २०७७ मा सम्पन्न उपनिर्वाचनमा बागमति प्रदेश सभा सदस्यमा भक्तपुर क्षेत्र नं. १ को प्रदेश सभा क बाट निर्वाचित हुनुभएको थियो । उहाँले तत्कालिन नेकपाका उम्मेदवार डि पि ढकाललाई पराजित गर्नुभएको थियो । २०७४ को निर्वाचनमा भने बाम गठबन्धनकातर्फबाट उम्मेदवार बन्नुभएका हरिशरण लामिछाने निर्वाचित हुनुभएको थियो । उहाँले कांग्रेसका जीवन खत्रीलाई पराजित गर्नुभएको थियो । लामिछानेको असामयिक निधनपछि २०७७ मा उपनिर्वाचन भएको हो
भक्तपुर क्षेत्र नं. १ को प्रदेश सभा क बाट समानुपातिक उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्ने कांग्रेस नेताहरुमा भँडेलसहित ६ जना रहेका छन । नेपाली कांग्रेस क्षेत्र नं. १ का सचिव समुन्द्र थापाका अनुसार भँडेलसहित बिजेश अवाल, माधवप्रसाद न्यौपाने, सृजना केसी, संगिता फुँयाल र धन बहादुर थिङ्गले समानुपातिक उम्मेदवार बन्ने आकांक्षासहित टिकटको दावेदारी पेश गरेका छन ।
मन्त्री भँडेलले समानुपातिक उम्मेदवार बन्ने आकांक्षा पेश गर्दा उहाँकै स्वकिय सचिव रहनुभएका समुन्द्र थापाले भने प्रत्यक्षतर्फको उम्मेदवारका लागि दावी पेश गरेका छन । यस क्षेत्रको प्रत्यक्षतर्फको उम्मेदवार बन्नको लागि थापासहित ११ जनाले टिकटको दावी गरेका छन । प्रत्यक्षतर्फको उम्मेदवार बन्ने अकांक्षासहित दावी प्रस्तुत गर्नेहरुमा थापासहित शिवहरी केसी, प्रबिन बन, उद्धब खड्का, राजेश खड्का, राधा कार्की(सरु बानियाँ), गणेशप्रसाद फुँयाल, यादवप्रसाद अधिकारी, मनोजकुमार थापा, सुरेश श्रेष्ठ र हरिप्रसाद नेपाल रहेका छन् ।