फोहोर व्यवस्थापनको लागि उपत्यकाका नगरप्रमुखहरु वैकल्पिक उपाय खोज्दै

भक्तपुर, भाद्र १६
काठमाण्डौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुले बुधवार गोकर्णेश्वर नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न प्रयोग गरिरहेको प्रविधिको स्थलगत अवलोकन गरेका छन । सोही क्रममा मध्यपुर थिमिको समेत अवलोकन भ्रमण गरेका छन ।
काठमाण्डौं महानगरपालिका प्रमुख बालेन्द्र साह नेतृत्वमा उपत्यकाका ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, दक्षिणकाली नगरप्रमुख मोहन बस्नेत, चाँगुनारायण नगरप्रमुख जीवन खत्रीलगायतको टोली गोकर्णेश्वरमा सञ्चालन भइरहेको फोहोरलाई जलाएर नष्ट गर्ने प्रविधिको अवलोकन गरेको हो ।


गोकर्णेश्वरले नकुहिने फोहोरलाई जलाएर नष्ट गर्ने आधुनिक प्रविधिको प्रयोग गरिरहेको छ । गोकर्णेश्वरले जापानी प्रविधिको इन्सिनरेटर मेसिन जडान गरी सञ्चालनमा ल्याएको उक्त प्रविधि प्रदुर्षण रहित र अन्य स्थानीय तहले पनि उपयोगमा ल्याउन सकिने नगरप्रमुख दिपककुमार रिसालले बताउनुभयो ।
गोकर्णेश्वरको अवलोकनपछि नगरप्रमुखको टोलीले मध्यपुर थिमिको अवलोकन भ्रमण गरेका थिए । थिमिमा नगरप्रमुखको टोलीले शंखधर पार्कका साथै रिकीसी प्रांगारिक मल उत्पादन केन्द्रको समेत अवलोकन गरेका थिए ।
थिमिको शंखधर पार्कमा काठमाण्डौं महानगरपालिकाको समेत आर्थिक सहयोग रहेको छ । काठमाण्डौंले उपत्यकाका सबै नगरपालिकालाई वातावरणिय सुधार परियोजनाका लागि वार्षिक एक करोड अनुदान दिने नीति अनुरुप मध्यपुर थिमिको शंखधर पार्क निर्माणलाई दुई करोड अनुदान दिएको थियो ।


अवलोकनको उद्देश्य उपत्यकाको फोहोर व्यवस्थापनको वैकल्पिक उपायको खोजी गरी साझा धारणा बनाउनु रहेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले काठमाण्डौं उपत्यकाको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा काठमाण्डौं महानगरको अगुवाईमा वैकल्पिक उपायको खोजीमा उपत्यकाका नगरप्रमुखहरु एकजुट भएर लागि परेको बताउनुभयो ।
मध्यपुर थिमिका उपप्रमुख विजयकृष्ण श्रेष्ठले सानो स्केलमा सञ्चालन भएका फोहोर व्यवस्थापनको वैकल्पिक उपायको प्रभावकारिता बारे छलफल गरी थप उपाय अवलम्वन गर्ने नगरपालिकाको नीति रहेको बताउनुभयो । उहाँले फोहोर व्यवस्थापनलाई समूदायमा आधारित उपाय अवलम्बन नगरेसम्म फोहोरको समस्या समाधान नहुने भएकाले नगरपालिकाले सोही अनुरुप नीति बनाएर अघि बढ्ने बताउनुभयो ।
उहाँले रिकिसीले मध्यपुर थिमिको वडा नं. ४ को आंशिक भागको कुहिने फोहोरको मात्र व्यवस्थापन गर्दै आएको जानकारी दिँदैं यस्ता सानो स्केलको फोहोर व्यवस्थापनले नगरको सबै फोहोर व्यवस्थापन हुन नसक्ने बताउनुभयो ।