काठमाण्डौं वल्र्ड स्कुलमा भएको झडपमा दुई जना घाईते

भक्तपुर, भाद्र १५
भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित काठमाण्डौं वल्र्ड स्कुलमा आज दिनभरी सो स्कुलका विद्यार्थी र स्थानीयबीच तथा स्थानीय स्थानीयबीच पनि झडप हुँदा दुई जना घाईते भएका छन ।
घाईते मध्ये स्थानीय जोन कार्कीको दाहिने हात भाँच्चिएको, पाखुरामा खुकुरीले काटेको र टाउकोमा चोट लागेको छ । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । अर्का घाईते प्रवेश कार्कीको घाँटीमा सामान्य चोटका साथै शरीरका अन्य भागमा निलडाम रहेको छ । उनको उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
स्थानीयका अनुसार स्कुलमा खेल खेल्ने क्रममा गत सोमवार कक्षा ११ का एक विद्यार्थी र कक्षा १२ का विद्यार्थीबीच झगडा भएको थियो । बल खेल्नेक्रममा पास माग्ने क्रममा भएको विवादले झडपको स्थिती आएको स्रोतले बताए । खेल सकिएपछि पनि कक्षा १२ का विद्यार्थीको समूहले कक्षा ११ का ती विद्यार्थीलाई कुटपिट गरेको थियो । पिडित विद्यार्थीले अभिभावकलाई घटनाको विवरण सुनाएपछि आज पिडित विद्यार्थीका अभिभावकसहित स्थानीयले आक्रोशित हुँदैं कुटपिटमा संलग्न विद्यार्थीलाई कारवाहीको माग गर्दै स्कुल घेराउ गर्न पुगेका थिए ।


उनीहरुले कलेज प्रशासनबाट विद्यार्थीले गरेको झगडा तथा र अन्य उच्छृङ्खल गतिविधि नियन्त्रण नगरेको आरोप लगाउँदैं कुटपिटमा संलग्न विद्यार्थीलाई तत्काल कारवाही गर्नुपर्ने माग राखी स्कुल बाहिर प्रदर्शन गरेका थिए ।
सोही बेला स्कुल बस आइपुगेको र स्थानीयले कक्षा ११ का विद्यार्थी कुटपिट गर्ने कक्षा १२ का विद्यार्थीलाई बसबाट ओरालेर थप्पड हिर्काएपछि झडको स्थिती आएको थियो । स्थानीय र विद्यार्थीहरुबीच दोहोरो झडप भएपछि प्रहरी परिचालन गरी स्थिती नियन्त्रणमा लिनुपरेको थियो ।
विद्यार्थी र स्थानीयबीचको झडप नियन्त्रणमा आएको केही समयपछि पुनः स्थानीयहरु कै दुई समूहबीच झडप भएको स्रोतले बताए । कक्षा ११ का विद्यार्थी कुट्ने कक्षा १२ का विद्यार्थीको समूहमा स्थानीय गुण्डुकै एक विद्यार्थी पनि रहेको र आक्रोशित स्थानीयले ती विद्यार्थीलाई समेत धम्काएपछि स्थानीय दुई समूहबीच नै झडपको स्थिती आएको स्रोतको दावी छ ।


स्रोतका अनुसार कक्षा १२ का विद्यार्थीहरुको समूह र सो समूहको पक्षमा रहेका स्थानीयको सहयोगका लागि बाहिरी युवाहरुको समूह घरेलु हातहतियार सहित आएका थिए । त्यसपछि झडप हिंसात्मक भएको स्रोतले बताए ।
दुई विद्यार्थीहरुबीचको सामान्य विवादको घटनाले अर्कै मोड लिँदा दुई समूहबीच झडपको स्थिती आएको प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले विद्यार्थीहरु बीचको विवाद समाधानका लागि स्कुलभित्र भएको छलफल सकारात्मकरुपमा टुंगिन लाग्दा बाहिर दुई समूहबीच विवाद हुँदा थप झडपको स्थिती आएको बताउनुभयो । उहाँले झडपमा दुई जना घाईते भएपनि कसैलाई नियन्त्रणमा नलिएको जानकारी दिनुभयो ।
घटनाको बारेमा भोली बिहिवार दुवै पक्ष प्रहरी वृत्त जगातीमा उपस्थित भएर छलफल गर्ने सहमति भएको उहाँले बताउनुभयो ।