नेपालको शिक्षा र प्रविधि विदेशमा बेच्ने मालसामानको रुपमा प्रयोग – बिजुक्छें

भक्तपुर, भदौ १५
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले विश्वविद्यालयहरुले नेपालको शिक्षा र प्रविधिलाई विदेशमा बेच्ने मालसामानको रुपमा प्रयोग गरिरहेको बताउनुभएको छ । ख्वप इन्जिनियरिङ कलेजमा नयाँ भर्ना हुन आएका भुकम्प इञ्जिनियरिङ÷अर्वान डिजाइन र कन्जरभेसनका विद्यार्थीहरुलाई बुधवार स्वागत गर्दै अध्यक्ष बिजुक्छेंले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाणपत्र सँगसँगै विभिन्न अनुसन्धानमार्फत देशलाई योगदान दिनेतर्फ सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले विश्वका अन्य मुलुकहरुमा इन्जिनियर, डाक्टरलगायत अन्य विषयका विद्यार्थीहरु राजनीतिक क्षेत्रमा पनि सक्रिय रहने गरेको ख्वपका विद्यार्थीहरुले पनि आफ्नो विज्ञतासँगै समाज र देशको पक्षमा काम गर्न देशको राजनीतिमा चासो राख्नुपर्ने सुझाव दिनुभयो ।
बन्द, हड्तालले देशको शैक्षिक स्तर उठाउन बाधा पु¥याइरहेको बताउँदैं उहाँले अंग्रेजीलगायतका विदेशी भाषाको प्रयोग र तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । “अध्ययन र सिकाइ भनेको निरन्तरको प्रक्रिया हो,” उहाँले भन्नुभयो, “विश्वसँग प्रतिस्पर्धा गर्नको निम्ति अंग्रेजी भाषामा पोख्त हुनु आवश्यक छ ।”


कलेज सञ्चालन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुले आफ्नो अध्ययन सँगसँगै गलत राजनीतिको खुल्ला रुपमा आलोचना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सरकारको असहयोगका कारण हालसम्म पनि ख्वप विश्वविद्यालय सञ्चालनको अनुमति पाउन ढिलाइ भइरहेको चर्चा गर्दै नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले विभिन्न विषयहरुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको र यस्ता सम्मेलनहरुको आयोजनाले विभिन्न देशका विश्वविद्यालयहरु सँगको सम्पर्क बढ्दै जाने र ज्ञानको क्षेत्र फराकिलो हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा भुकम्प इञ्जिनियरिङ÷अर्वान डिजाइन र कन्जरभेसन विषयमा ९ जिल्लाका ३७ जना विद्यार्थीहरु अध्ययनको लागि भर्ना भएको जानकारी दिनुभयो । उहाँले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले ख्वप सर्कलका शिक्षण संस्थाहरु स्थापना भएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले विद्यार्थीहरु किताबी ज्ञानमा मात्रै केन्द्रित हुन नहुने बताउँदैं भूकम्पबाट सुरक्षित शहर निर्माणका लागि भुकम्प इञ्जिनियरिङ÷अर्वान डिजाइन र कन्जरभेसन विषय छनोट गरेको जानकारी दिनुभयो ।
विभागीय प्रमुख डा. मन्जिप शाक्य नेपाल भूकम्पीय जोखिमयुक्त देश भएकोले भक्तपुर नपाले पठन पाठन गर्दै आएको विषय निकै महत्वको भएको बताउनुभयो ।
कलेजको अनुसन्धान र विकास विभागका संयोजक डा. सुवेगमान बिजुक्छेले विद्यार्थीहरु परीक्षामा उत्तीर्ण हुनु मात्र ठूलो विषय नभएको बताउँदैं विश्वविद्यालय तथा कलेजहरुले अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।