सूर्यविनायकको खट जात्रा मनाईंदै

फाइल फोटो

भक्तपुर, भाद्र १५
गणेश चतुर्थीको अवसरमा भक्तपुरको सूर्यविनायकको खट जात्रा धुमधामले मनाईंदैछ । स्थानीय सूर्यविनायक क्षेत्र प्रबन्ध समिति, सूर्यविनायक युवा क्लब, सूर्यविनायक नगरपालिकाको वडा नं ६ र ८, ढल्चा भजन, दाफा खलः तथा गुथियारहरुको सक्रियतामा यो जात्रा गरिएको हो ।
यो जात्रा करिव पाँच दशकपछि गतवर्ष देखी पुनः सञ्चालनमा आएको हो । आर्थिक अभावका कारण लोप हुने अवस्थामा पुगेको यो जात्रालाई पुनर्जिवित गर्न गत वर्ष सूर्यविनायक नगरपालिकाको वडा नं. ६ र ८ ले दुई÷दुई लाख रुपैंया बजेट व्यवस्था गरेको थियो । सोही अनुसार स्थानीय गुथियार र विभिन्न समिति, भजन खलःको सक्रियतामा जात्रा पुनः सञ्चालनमा भएको हो । जात्राको लागि यसवर्ष पनि दुवै वडाले तीन÷तीन लाख रुपैंयाँ विनियोजन गरेको छ ।
सूर्यविनायक मन्दिर सूर्यविनायक नगरपालिकाको वडा नं. ८ र ६ को सिमानामा रहेको छ । जात्रा दुई वटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा रहेको छ भने जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुथिहरु पनि दुई वटै वडाको क्षेत्रमा रहेको छ । त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुई वटै वडाले बजेट विनियोजन गरेको हो ।
गणेश चतुर्थीको दिनलाई भगवान सूर्यविनायकको जन्मोत्सवको रुपमा समेत लिईन्छ । जात्राका क्रममा सूर्यविनायकको मुल मुर्तिलाई खट्मा राखी एक आपसमा सिन्दुर दलेर विभिन्न टोलको परिक्रमा गराईने परम्परा रहेको छ ।
सूर्यविनायक मन्दिरको प्रांगणबाट शुरु भएको जात्राका क्रममा खटलाई स्थानीय तीनधारा, पिपलबोट, गुन्चा टोल, राजथला टोल, सूर्यविनायक चोक, चालिसे गाऊँलगायतका टोलमा धिमे, भुस्या, धाँ बाजाको साथमा परिक्रमा गराईन्छ । जात्रामा स्थानीय ढल्चा भजन, दाफा खलःका बाँसुरी बाजा, धिमे बाजा तथा गुथियारहरुको सहभागिता रहन्छ ।
गणेश चतुर्थीका दिन परापूर्व कालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो) को लोपोन्मुख जात्रालाई वर्षेनी निरन्तरता दिईने सूर्यविनायक युवा क्लबका अध्यक्ष मनोज गिरीले बताउनुभयो । “यो जात्रा परापूर्वदेखि चल्दै आएको जात्रा हो । तर, बीचमा रोकिएको थियो । गतवर्षदेखि पुनः सञ्चालनमा ल्याएर जीवन्त बनाएका छौं,” अध्यक्ष गिरीले भने, “अब यो जात्रालाई निरन्तर अगाडि बढाउँछौं ।”
काठमाण्डौं उपत्यकाका चार प्रमुख विनायक मध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भन्दछन । यो गणेशको मुख्य मुर्तिलाई वर्षको दुई पटक मात्र सार्वजनिक गरी पुजा गर्ने प्रचलन रहेको जात्रा व्यवस्थापन समिति संयोजक विष्णुप्रसाद राजथलाले बताउनुभयो । उहाँका अनुसार गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मुर्तिलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा बैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र त्यहाँ बैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पुजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ ।