भक्तपुर नगरभित्रका नेवार समूदायले मंगलवार चथाः पर्व मनाए

भक्तपुर, भाद्र १५
भक्तपुर नगरभित्रका नेवार समूदायले मंगलवार साँझ चथाः पर्व मनाएका छन । भाद्र शुक्ल चतुर्थीका दिन मनाईने गणेश चतुर्थीको अवसरमा नेवार समूदायले चथाः पर्व मनाउँदैं आएका छन । पञ्चांग निर्णायक समितिको पात्रो अनुसार आज (बुधवार) गणेश चतुर्थी मनाउने भएपनि मंगलवार साँझ नै चतुर्थी परेकोले चथाः मनाएको भैरवनाथका पुजारी माइला छुंकाले बताउनुभयो ।
चथाः पर्व मनाउने क्रममा नेवार समूदायले गणेश र चन्द्रमालाई जीवनमा चोर दोष कहिल्यै नलागोस भन्ने कामना सहित पुजा गर्दछन । भगवान गणेशको जन्म दिन समेत मानिएको चतुर्थीको साँझ कौशी वा झ्यालमा चथा गणेश र चन्द्रमाको पुजा गर्ने परम्परा रहेको छ । यस दिन गणेश र चन्द्रमालाई विधि पूर्वक पुजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास रहेको छ ।
चतुर्थीको दिन पुजा गर्दा चथाः गणेशको तस्बिरलाई पला लप्ते(कमलको पात) वा जेला लप्तेमा राखेर दुबो, मुला र लडडु, नैवेद्य, खाइसी, अदुवाको बोट, काँक्रो, भुटेको आरुको विउ, नासपाती, केरा, स्याउ, अनार, अम्वा, हाँडे ओखर, मसला, मकै, भटमास, गहुँ, केराउ, चना, बकुल्ला, बदाम लगायत आठ प्रकारका भुटेको गेडागुडी चढाईन्छ । यसरी विधिवत रुपमा पुजा सकेपछि परिवारका सबै जना सदस्यहरु प्रसादको रुपमा गणेश र चन्द्रमालाई चढाएको फलफुल तथा गेडागुडी खाने चलन रहेको छ । आजको दिन चथा गणेशलाई विभिन्न पकवानसँगै विषेशगरी दुवो, लड्डु र मुला चढाउँदा गणेश खुशी भई जीवनमा चिताएको मनोकामना पुरा हुने जनविश्वास समेत रहेको छ ।
चतुर्थीको अवसरमा नेवार समुदायमा चन्द्रमाको पुजा गर्ने दुई वटा परम्परा रहेको छ । एक थरी समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथै घरको सबै झ्याल ढोकामा समेत पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाश समेत घर भित्र छिर्न नसक्ने गरी लुकेर पुजा गर्ने गर्दछन । अर्को समुदाय घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखा परेपछि मात्र चथाः गणेशको पुजा गरी प्रसाद खाएर घर भित्र जाने प्रचलन रहेको छ ।
यस दिन राती चन्द्रमाको पुजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ्ग अस्थाई र गौण हुने तथा उसका राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देश समेत दिने गरेको संस्कृतिविद् तथा ईतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।
पौराणिक लोककथन अनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भनी ठूलो हेला र अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जोकोहीलाई चोर दोष लागोस भनेर श्राप दिएछन । गणेशको सोही श्रापको प्रभावले त्यसदिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो । त्यसपछि देवीदेवताहरु समेतले चन्द्रमाको मुख हेर्न छाडिदियो । यसले गर्दा चन्द्रमाको ठूलो बेइज्जत भयो । चन्द्रमा बाहिर आउन, हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुग्यो । त्यसपछि चन्द्रमा महादेवको शरणमा गएर भक्तिभाव गरी महादेवको सहयोगले चन्द्रमाले गणेशलाई दुवो, लड्डु र मुला चढाई क्षमायाचना गरे । चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अब देखी भाद्र शुक्ल चौथीको दिन बाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिए ।
साथै गणेशले चतुर्थीको राती विधि पूर्वक चन्द्रमाको पुजा गरे सो दिनमा चन्द्रमा दर्शन गरेपनि चोर दोष नलाग्ने वरदान समेत दिएकाले गणेश चतुर्थीको दिन राती चन्द्रमाको पुजा गर्ने परम्परा बसेको लोककथन पाईन्छ ।
गणेश चतुर्थीलाई भक्तपुरका नेवार समुदायले दशैं भित्र्याउने चाडको रुपमा समेत लिने गरेको छ । दशैंको प्रारम्भ पर्वको रुपमा लिने भएकाले नेवार समुदायले आजको दिन विशेषगरि घरघरमा मासु भित्र्याउने चलन पनि रहेको छ । नेवार समुदायमा चथाः पर्व राम्रो भए दशै पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास छ । गणेश चतुर्थीकै दिन भक्तपुरका किसानहरुले आ–आफ्ना अदुवा खेतीको पुजा गरी नयाँ अदुवा निकाल्ने प्रचलन समेत रहेको छ ।
गणेश चतुर्थीकै दिन ईन्द्रजात्राको लागि भक्तपुरबाट काठमाडौंको बसन्तपुरसम्म लिंगो लैजाने परम्परा रहेको छ । ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा ठड्याउने लिंगो भक्तपुरको चित्तापोलस्थित लिंगेवनबाट ल्याईन्छ ।