मध्यपुर थिमि नगरभित्रको मौलिक नाम प्रतिष्थापनका लागि समिति गठन

भक्तपुर, भाद्र १४
मध्यपुर थिमि नगरपालिकाले स्थानीय बस्ती, चोक, स्थान, सडक, टोल र गल्लीहरुको मौलिक नामलाई पुनर्जिवित गर्ने भएको छ । त्यसका लागि नगरपालिकाले एक समिति समेत गठन गरेको छ ।
नगरपालिका क्षेत्रभित्र तिव्र गतिमा बढेको शहरीकरण तथा बस्ती बिस्तारसँगै जथाभावी टोल, सडक र गल्लीहरुको नामाकरण गर्ने प्रवृत्ति बढेको र त्यसले स्थानीय मौलिक नामहरुको अस्तित्व लोप हुने अवस्थामा पुगेकोले नगरपालिकाले मौलिक नामलाई पुनर्जिवित गर्ने अभियान थालेको हो । सो सम्बन्धमा मंगलवार नगपालिकामा आयोजित सरोकारवालाहरुसँगको छलफलले एक समिति गठन गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न छलफलले स्थानीय अभियन्ता ई. राजेन्द्र तुँबजा श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा मध्यपुर थिमि नगरपालिका स्थापना हुनु अघिको तत्कालिन पाँच वटा गाविसको प्रतिनिधित्व हुने गरी प्रत्येक गाविसबाट हाललाई दुई दुई जना सदस्य चयन गरिएको छ ।


समितिको सदस्यमा तत्कालिन दिव्यश्वरी गाविसबाट जगतकृष्ण प्रजापति र सुरेन्द्र बहादुर सिजापति, बालकुमारी गाविसबाट बाबुकाजी साँछें श्रेष्ठ र कृष्णकाजी (के के) मानन्धर, चपाचोबाट धर्म सुन्दर बज्राचार्य र श्यामकृष्ण मानन्धर, नगदेशबाट तुल्सी भक्त घजु र विनोद कोजु तथा बोदेबाट विनोद खम्बु र भरत ध्वँ सदस्य छन । समितिमा आवश्यकता अनुसार थप १० जना थप गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।
समितिले वडाअध्यक्षहरुसँग आवश्यक छलफल, सहकार्य र समन्वय गरी मध्यपुर थिमि नगरभित्रका परम्परागत एवम् ऐतिहासिक मौलिक नामहरुको संकलन, संकलित नामहरुको अध्ययन अनुसन्धान गरी प्रतिष्थापनका लागि नगरपालिका समक्ष सिफारिस गर्नेछ । समितिको सिफारिसका आधारमा नगरपालिकाले स्थानीय मौलिक नामहरुको प्रतिष्थापन गर्दै जाने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
समितिले नगरपालिकाले निर्माण गर्ने कार्यविधिको अधिनमा रहेर कार्य गर्नेछ । त्यसका लागि कार्यविधिको मस्यौदा तयारी भइरहेको समितिका संयोजक ई. राजेन्द्र श्रेष्ठले बताउनुभयो । कार्यविधि निर्माण भएपछि नगरपालिकाले समितिलाई कार्यादेश दिने सोही अनुसार समितिले प्रतिवेदन तयार गरी नगरपालिकालाई बुझाउने नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताउनुभयो ।