अतिक्रमित संरचना ३५ दिनभित्र हटाउन मध्यपुर थिमि नगरपालिकाको निर्देशन

भक्तपुर, भाद्र १४
मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक सडक अतिक्रमण हुने गरी बनाएका संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । नगरपालिकाले मंगलवार सार्वजनिक सूचना प्रकाशन गरी सडक अतिक्रमण हुने गरी बनाएका संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।
नगरपालिकाले नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डविपरीत बनाएक संरचना निर्माण गरिएको पाईएकोले त्यस्ता संरचना हटाउन र नक्सा पास गर्दा बखतको संरचना मात्र राख्न निर्देशन दिएको हो ।
नगरपालिकाले सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्ने, अव्यवस्थित रुपमा सवारी साधनहरु पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएकोले त्यस्ता कार्य समेत नगर्न निर्देशन दिएको छ ।
उल्लेखित भए गरेका कार्यहरु सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानून बमोजिम कारवाही गर्ने नगरपालिकाले जनाएको छ । यस सम्बन्धी सूचना भाद्र १४ गते मंगलवारको गोरखापत्र दैनिकमा प्रकाशन भएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।