झलमल्ल हुन थाल्यो अरनिको राजमार्ग

भक्तपुर, भाद्र १४
अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं. १ मनोहरा पुलदेखी राधेराधेस्थित हनुमन्ते पुलसम्मको खण्डमा सडक बत्ति बल्न थालेको छ । सडक बिस्तारसँगै राखिएका सडक बत्ति नबल्दा दिनहुँ जसो दुर्घटना हुनुका साथै असुरक्षा बढेपछि मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको पहलमा सो सडक बत्ति बल्न थालेको हो ।
नगरप्रमुख श्रेष्ठले केही दिन अघि सडक बत्ति बाल्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसँग उहाँकै कार्यकक्षमा भेट गरी सडक बत्ति बाल्ने प्रवन्ध गर्न आग्रह गर्नुभएको थियो । सो अवसरमा नगरप्रमुख श्रेष्ठले अरनिको राजमार्ग अन्तर्गत तीनकुने सूर्यविनायक सडक खण्डको सडक सौन्दर्यका लागि पनि सडक बत्ति बाल्नु पर्नेमा जोड दिनुभएको थियो । सो छलफल पश्चात विद्युत प्राधिकरणले सडक बत्ति मर्मत गरी बाल्न थालेको हो ।


हाल मनोहरा पुलदेखी कौशलटारसम्मको सडकमा बत्ति बल्न थालेको छ । प्राधिकरणले सडक बत्ति मर्मत गरी १५० वाटका बत्ति जडान गरेको छ । पहिले राखिएका चीम कम वाटको भएकाले मधुरो देखिने गरेको अहिले १५० वाटको बत्ति राखिएको छ ।
सडक बत्ति बाले वापत वार्षिक १५ लाख महशुल तिर्नुपर्ने छ । पहिलो चरणमा अरनिको राजमार्गको काम हुनेछ । दोस्रो चरणमा नगरका मुख्य चोक र भित्रि मुख्य सडकमा सडक बत्ति जडान गरिनेछ । महशुल वापतको रकम नगरपालिकाले ६० प्रतिशत र प्राधिकरणले ४० प्रतिशत व्यहोर्ने सहमति भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले उज्यालो नगर कार्यक्रम अन्तर्गत नगरपालिकाले महशुल तिर्ने व्यवस्था गरिने बताउनुभयो ।


यसअघि मध्यपुर थिमि नगरपालिकाले मनोहरा पुलदेखी राधेराधेसम्मको सडकमा सौर्य बत्ति जडान गरी उज्यालो बनाउने र सो सौर्य बत्तिको पोलमा विज्ञापन गर्न पाउनेगरी बतास समूहसँग सम्झौता गरी सडकको जिम्मा दिएको थियो । बतास समूहले सम्झौता बमोजिम सडक बत्ति जडान नगरेको, जडान गरेका बत्ति नबलेको पाईएको छ । बतास समूहले नगरपालिकालाई तिर्नुपर्ने कर समेत हालसम्म नतिरेको नगरपालिका स्रोतले जनाएको छ । स्रोतका अनुसार बतास समूहलाई करको वक्यौता तिर्न पटक पटक ताकेता गरेपनि बतास समूहले अटेर गरेकोले कारवाही गर्ने तयारी समेत भइरहेको छ । बतासले नगरपालिकालाई करिव एक करोड रुपैंया तिर्नुपर्ने बाँकी रहेको स्रोतले बताए ।