रोमानिया पठाईदिन्छु भनी १७ लाख ७५ हजार ठगी गरेको आरोपमा एक युवती पक्राउ

भक्तपुर, भाद्र १३
वर्किङ भिषामा युरोपेली मुलुक रोमानिया पठाइ दिन्छु भनी रकम ठगी गर्ने एक युवतीलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. ४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ५ सल्लाघारी बस्ने २० वर्षिया पुन माया श्रेष्ठ हुन । उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो ।
श्रेष्ठले श्रीया सुवेदीलगायतलाई रोमानिया पठाइ दिने १७ लाख ७५ हजार ठगी गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताउनुभयो । कोइराला अनुसार श्रेष्ठले सुवेदीलगायतसँग रोमानिया पठाई दिन्छु त्यसका लागि ६ लाख रुपैंया लाग्छ र रोमानिया पुगेपछि फुड प्याकेजिङको काममा लगाइदिन्छु, मासिक ७५ हजासम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट सत्र लाख पचहत्तर हजार रुपैयाँ लिएकी थिइन् ।
रकम लिएसँगै श्रेष्ठ सम्पर्क विहीन भएकी थिइन् । त्यसरी ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट प्रहरी कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार गरेको थियो । सो सम्बन्धमा आवश्यक कारवाहीका लागि श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।