भक्तपुरमा ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु

भक्तपुर, भाद्र १०
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले ‘जनताको साथमा कांग्रेस’ अभियान कांग्रेसलाई जनतासँग जोड्ने कडी भएको बताउनुभएको छ । आगामी मंसिर ४ गतेको आम निर्वाचनलाई लछित गरी कांग्रेसले सञ्चालन गरेको जनताको साथमा कांग्रेस अभियानलाई शुक्रवार भक्तपुरमा पनि शुभारम्भ गर्दै नेतृ बस्नेतले अभियान निर्वाचनमुखी मात्र नभएर कांग्रेसलाई जनतासँग जोड्ने अभियान पनि भएको बताउनुभएको हो ।
उहाँले अभियान अन्तर्गत जनताको घर आँगनमा गई आगामी मंसिर ४ गतेको चुनावमा गठबन्धनको उम्मेदवारलाई जिताउन पार्टी जिल्ला नेतृत्वलाई निर्देशन समेत दिनुभयो । “जनता र कार्यकर्ता बिच गई गठबन्धनको भावी काम कर्तब्यको बारेमा जानकारी गराउने र निर्वाचनमा स्थानियस्तरबाट कार्यकर्ता जागरूक बनाउने अभियानको उद्देश्य हो,” उहाँले भन्नुभयो । उहाँले पार्टीले तोकेको उम्मेदवारलाई जिताउन निर्धक्क भएर लाग्न आग्रह गर्नुभयो ।


नेपाली कांग्रेस भक्तपुरका नेता तथा पुर्व सांसद लेखनाथ न्यौपानेले सबै भन्दा पहिला आफु कांग्रेस हुँ, पार्टीले टिकट दिएकाले चुनाब हारे म हार्छु भन्ने भावना कांग्रेस नेता कार्यकर्ताहरुमा हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टी बलियो भए हामी सबैको शान बढ्छ भन्दै उहाँले व्यक्ति बिशेष होइन कि पार्टी बलियो बनाउन लाग्नु नै एउटा ईमान्दार नेता, कार्यकर्ताको जिम्मेवारी भएको बताउनुभयो । “भक्तपुरलाई कांग्रेसमय बनाउन सबैले हिजोका झिनामसिना कुरामा होईन कि पार्टीले दिएको निर्देशनमा लाग्नुपर्छ । त्यही नै पार्टी हित र संगठनको हित हुने कुरामा दुई मत रहदैन,” उहाँले भन्नुभयो ।
नेपालीे काग्रेस बागमति प्रदेशका महामन्त्री कन्चन बादे श्रेष्ठले अभियानले कांग्रेसलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै हिजोका तितामिठा गुट उपगुटमा नरही पार्टी हितमा लाग्न अनुरोध गर्नुभयो ।
जिल्ल सभापति दुर्लभ थापाले पार्टीको अभियानलाई गाउँ गाउँ पुर्याउनु नै वडा, नगर, प्रदेश सभा, क्षेत्रीय समिति र जिल्ला समितिको दायित्व भएको बताउनुभयो । उहाँले जसले टिकट ल्याएपनि पार्टीको उम्मेदवार हुने भएकाले सबैले जिम्मेवारी बहन गरी जिताउनु कर्तव्य भएको बताउनुभयो ।


“हिजो स्थानिय निर्वाचनमा कोहिलाई चित्त बुझेन होला, कसैले टिकट प्राप्त गर्दा गर्दै पनि पराजय भोग्नु परेको तिता अनुभव होला । अब ती तिता मिठा कुरालाई छाडेर कांग्रेस जिताउँ अभियानमा लाग्नुपर्छ,” उहाँले भन्नुभयो, “भोली पार्टीले योग्य सम्झेर जसलाई टिकट दिन्छ, उसलाई चुनाव जिताउन एक ढिक्का भएर लाग्नुपर्छ ।”
सभापति थापाले अग्रजहरुको त्याग र तपस्याले पार्टी आजको अवस्थामा आइपुगेको बताउँदैं सबै एकमत भएर लागे भक्तपुरमा कांग्रेसलाई कसैले हल्लाउन नसक्ने दावी गर्नुभयो ।
कार्यक्रममा बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल, बागमति प्रदेशका उद्योग तथा वाणिज्य राज्यमन्त्री रजनी जोन्छे, पुर्व जिल्ला सभापति गणेशमान चक्रधर र महेश श्रेष्ठ, भक्तपुर क्षेत्र नं. १ का सभापति एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठ, मध्यपुर थिमिका नगरसभापति हरिदास प्रजापति, चाँगुनारायण नगरसभापति शिवहरी केसी, भक्तपुर नगरसभापति राजेन्द्र तमाखू, सूर्यविनायक नगरसभापति निशान ढुंगेललगायत कार्यसमितिका पदाधिकारी, भातृ संगठनका नेताहरु र कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।