देशलाई समृद्ध बनाउन स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्छ – अध्यक्ष बिजुक्छें

भक्तपुर, भाद्र ११
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले काम गरेको एक सय दिन पुगेको अवसरमा शनिवार आयोजित प्रवचन कार्यक्रममा अध्यक्ष बिजुक्छेंले देशलाई समृद्ध बनाउन स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुको एक सय दिनको कार्यकाल उपलब्धीमूलक भएको बताउँदैं जनप्रतिनिधिहरुले आफुलाई सधैं जनताको सेवामा समर्पित गर्नुपर्ने सुझाव दिनुभयो ।


भक्तपुर नगरपालिकालाई भ्रष्टाचारमुक्त र पारदर्शी नगरपालिकाको रुपमा कायम राख्न जनप्रतिनिधि र कर्मचारीहरुले प्रतिबद्ध भएर काम गर्नुपर्ने सुझाव दिँदैं उहाँले समय सापेक्षित ढंगले कर्मचारीहरुलाई तालिम र प्रशिक्षणहरुको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले नयाँ पुस्ताले अन्धविश्वासमा वैज्ञानिकताको खोजी गर्नुपर्ने बताउँदैं सरकारले अन्य देशबाट सिक्दै देशलाई समृद्ध बनाउनतर्फ सोच्नुपर्ने बेला भएको बताउनुभयो । अध्यक्ष बिजुक्छेँले राजनीतिक कार्यकर्ताहरुले संगठित भएर काम गरे गल्ती कम मात्र हुने र त्यसले राजनैतिक प्रतिबद्धतामा ठूलो नैतिक बल हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले एक सय दिनमा गरेका गतिविधिहरुबारे जानकारी दिँदैं भक्तपुरलाई सफा, सुन्दर र विश्वकै हेर्नलायक नगर बनाउने काममा यहाँका जनताको निरन्तर साथ र सहयोगको आवश्यकता औंल्याउनुभयो ।


उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयलाई ई–लाइब्रेरीको रुपमा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको, ख्वप अस्पताल १०० शैय्यामा स्तरोन्नति, ख्वप विश्वविद्यालय सञ्चालनको निम्ति प्रयास, दैनिक संकलन भएका कुहिने फोहरबाट सीएनबिएम प्रविधिबाट कम्पोष्ट मल बनाइ बिक्री वितरण, विभिन्न वैकल्पिक स्रोतहरुमार्फत केयुकेएलसँगको समन्वयमा भक्तपुरमा खानेपानी वितरण, पर्यटन क्षेत्रमा गत वर्षको तुलनामा उल्लेख्य सुधार, अनलाइनमार्फत कर भुक्तानी प्रक्रिया सुरु गर्ने योजना, हनुमानघाटमा सुधारिएको शवदाह गृह सञ्चालन, ख्वप टेलिभिजन सञ्चालनको तयारीमा जुटेको जानकारी दिनुभयो ।
शिक्षालाई व्यापार बनाउन चाहनेहरुले जनताका छोराछोरीलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्न नचाहेको प्रष्ट पार्नुहुँदै उहाँले नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नर्सिङका नयाँ विद्यार्थी भर्ना गर्न सीटीईभीटीले अनावश्यक दुःख दिइरहेको आरोप लगाउनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले संघ, प्रदेश र स्थानीय तहको व्यवस्था भएपछि भक्तपुर नगरपालिकाले स्थानीय तहको रुपमा विभिन्न कानुन, नीति र नियमावलीहरुको व्यवस्था गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो ।


भक्तपुर नपामा जनप्रतिनिधिको सय दिन निकै उपलब्धीपूर्ण भएको दावी गर्दै उहाँले संविधान र कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही भक्तपुर नगरपालिकाले नीति निर्माण गर्ने, त्यसको कार्यान्वयन गर्ने र व्यापक जनताको हितको निम्ति शिक्षा र स्वास्थ्य जस्ता विषयहरु न्यून शुल्कमा सेवा प्रदान गर्दै समाजवादउन्मुख राज्य निर्माणमा जोड दिएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले निर्वाचनमा हुने आर्थिक चलखेलबाट जनता सचेत हुनुपर्ने बताउँदैं विकासको भक्तपुर मोडल देशका अन्य स्थानीय तहहरुले सिकेर कार्यान्वयन गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेलले भक्तपुरलाई आफ्नो कार्यक्षेत्र बनाउन पाउँदा गौरवान्वित महसुस भएको बताउँदैं वडा वडामा पाठेघर शिविर गरी भक्तपुरका महिलाहरुलाई क्यान्सरबारे सचेत बनाउन भक्तपुर नपाले विशेष पहल गर्नुपर्ने सुझाव दिनुभयो ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले सम्पदा र पर्यटन एउटै सिक्काका दुई पाटा भएकोले भक्तपुरका भौतिक सम्पदाहरुमा दृश्य प्रदूषण नहुने गरी सम्पदाहरुको मौलिक नाम उल्लेख गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सो अवसरमा वडा नं. ५ स्थित भीमसेन सत्तल निजी गुठीका सञ्चालक गणेशमान बिजुक्छेँका माहिला छोरा प्रयागमान बिजुक्छेँले नगर प्रमुख प्रजापतिलाई भीमसेन सत्तल हस्तान्तरण गर्नुभएको थियो ।