कांग्रेसको चुनावलक्षित ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु

भक्तपुर, भाद्र १०
नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको छ । अभियान तीन चरणमा सञ्चालन हुने कांग्रेसले जनाएको छ ।
पहिलो चरणको अभियान यही भाद्र २४ गतेसम्म चल्नेछ । दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि सञ्चालन हुनेछ । अभियानका लागि कांग्रेसले यसअघि नै केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा पठाइसकेको छ ।
अभियानका चार उद्देश्य छन । पहिलो मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने, दोस्रो जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने रहेका छन ।
त्यसैगरी तेस्रोमा कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने र चौंथो निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने रहेको कांग्रेस प्रवक्ता प्रकाशरण महतले बताउनुभयो ।
अभियान अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति प्रतिनिधिलगायत बैठक बोलाउने छन् । यस्तै प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउने कांग्रेसले बताएको छ ।