निर्वाचनमा हारेपनि आन्दोलनमा हार्नु हुन्न ः अध्यक्ष बिजुक्छें

भक्तपुर, भदौ ६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चुनावमा हारे पनि कुनै पनि आन्दोलनमा हार्न नहुने बताउनुभएको छ । पार्टीको भक्तपुर जिल्ला समितिको पूर्ण बैठकलाई सोमवार सम्बोधन गर्दै बिजुक्छेंले चुनाव भनेको हारजितको खेल भएकाले त्यसमा हारेपनि जनताको पक्षमा हुने कुनैपनि आन्दोलन हार्न नहुनेमा जोड दिनुभएको हो ।
उहाँले मुलुकको परिस्थितीले नयाँ नयाँ आन्दोलनको खाँचो भएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको अहिलेको अवस्थामा नयाँ नयाँ आन्दोलन गर्नुपर्ने स्थिति बनेको छ । राजनीीतमा चुनावमा हार्न सक्छौँ तर कुनै पनि आन्दोलनमा हार्नु हुँदैन ।”
बैठकमा उहाँले कार्यकर्तामा आवश्यक गुणबारे स्पष्ट पार्दै प्रशिक्षण समेत दिनुभएको थियो । राजनीतिलाई फाइदा र बेफाइदामा केन्द्रीत गर्दा मुलुक आजको अवस्थामा पुगेको विश्लेषण गर्दै उहाँले भन्नुभयो “फाइदा–बेफाइदामा केन्द्रित हुने कार्यकर्तामा जुझारूपन हुँदैन । वैचारिकरूपले ठीक कार्यकर्ताहरुले पार्टीभित्र होस् या समाजमा सङ्घर्ष गर्छन् ।”
वर्गीय तथा पेशागत सङ्गठनका इन्चार्जहरूको समेत उपस्थिति रहेको बैठकमा बिजुक्छेंले आत्मसमीक्षा तथा आत्मालोचना साङ्गठनिक जीवनको महत्वपूर्ण गुण रहेकोमा जोड दिनुभयो । “कुनै पनि कार्यकर्ता पार्टीप्रति इमानदार छ–छैन गतिविधिबाट थाहा हुुन्छ, आफ्नो र परिवारको फाइदाको निम्ति होइन जनताको सेवामा कति समर्पित भयो भन्ने कुराले पार्टी कार्यकर्ताको मूल्याङ्कन गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो ।