चाँगुनारायणका छात्राहरुलाई प्याड वितरण

भक्तपुर, भाद्र ६
चाँगुनारायण नगरपालिकाले नगरभित्रका छात्राहरुलाई सोमवार निःशुल्क स्यानिटरी प्याड वितरण गरेको छ । नगरपालिकाले नगरका ३४ वटा विद्यालयका कक्षा ५ देखि १२ सम्म अध्ययनरत १ हजार ५ सय ९७ जना छात्राहरूलाई निःशुल्क प्याड वितरण गरेको हो ।
सो अवसरमा नगरप्रमुख जिवन खत्रीले महिलामा हुने महिनावारीका कारण पढाईमा आउन सक्ने अवरोधलाई सजह बनाउन सहयोग गर्ने उद्देश्यले नगरपालिकाले छात्राहरुलाई प्याड वितरण गरिएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयलाई विद्यार्थीहरुको आकर्षणको केन्द्र बनाउन नगरपालिका लागि परेको जानकारी दिँदैं उनले छात्राहरूका लागि आवश्यक प्याड वितरणले उनीहरुको शिक्षाको गुडास्तर बृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले महिलाहरुमा महिनावारी हुँदा शारिरीक र मानसिक रुपमा समस्या हुने बताउँदै शारिरीक रुपमा हुने समस्या समाधानका लागि नगरपालिकाले छात्राहरुका लागि सो प्रयास गरिएको जानकारी दिनुभयो । उहाँले महिनावारी हुँदा छात्राहरु विद्यालय नआउँदा पढाइमा असर पुग्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न प्याडको बन्दोबस्त गरिएको उल्लेख गर्नुभयो । नगरप्रमुख खत्रीले प्याडको सही सदुपयोग गरि प्रयोग गरिएका प्याडको व्यवस्थापन वातावरणीय तवरले गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा श्रीकृष्ण मावि, खरिपाटीका प्रधानाध्यापक अरूण चौधरीले विद्यार्थीले प्याड पाएपछि पठनपाठनमा सहज अनुभव गरेको बताउनुभयो ।