भक्तपुर असार २९
आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती, देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाईंदैछ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भानुभक्तको जन्म भएको थियो । उनलाई कुवा बनाउँदैं गरेका सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती–उपदेश दिएका थिए । भानुभक्तलाई अर्ती दिने घाँसीले निर्माण गरेको कुवा आज पनि घाँसी कुवाले प्रसिद्ध छ ।
घाँसीकै प्रेरणास्वरुप भानुभक्तले साहित्य सिर्जना गरे र नाम कमाए । अयोध्याका राजा रामको जीवनी समेटिएको संस्कृत भाषाको रामायणलाई भावानुवादसहितको सरल नेपाली भाषामा प्रस्तुत गरेर भानुभक्तले नेपाली साहित्यमा ठूलो योगदान दिएका थिए ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका आदिकवि भानुभक्तको ‘वधुशिक्षा’ अर्को प्रसिद्ध कृति हो । यसैगरी उनको ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ‘भोलि भोलि भन्दैमा सब घर बिति गो बक्सियोस् आज झोली ।’
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । भानुभक्तभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् ।
उनको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि विविध साहित्यिक कार्यक्रम गरी मनाइन्छ ।