आज गुरु पूर्णिमा, गुरुहरु प्रति सम्मान प्रकट गरी मनाइँदै

भक्तपुर, असार २९
आषाढ शुक्ल पूर्णिमाका दिन आज आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव सम्मान प्रकट गरी गुरु पूर्णिमा मनाइँदैछ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमाका रूपमा मनाईंदै आएको हो ।
वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । संस्कृत शव्द ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो । त्यसैले जीवनलाई अन्धकारबाट उज्यालोतर्फ लैजान शिक्षा दिने व्यक्तिलाई गुरुको संज्ञा दिईएको हो ।
गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । गुरु पूर्णिमाको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ ।