सँस्कृति संरक्षणमा जुर्मुराए मध्यपुर थिमिका युवाहरु

लक्ष्मी गारु, भक्तपुर, असार २९
मध्यपुर थिमि वडा नं ५ का २८ वर्षिय गोपी प्रजापति अचेल दैनिक साँझ २ घण्टा नृत्य प्रशिक्षण गरिरहनुभएको छ । मध्यपुर थिमि नगरपालिकामा गाईजात्राको भोलीपल्टदेखी चार दिन प्रदर्शन गरिने धार्मिक महत्वको ऐतिहासिक महाकाली प्याखँ (नाच)मा गोपी महाकालीको भूमिकामा नाच्दै हुनुहुन्छ । त्यसैको तयारीका लागि गोपी दैनिक साँझ ७ बजेदेखी ९ बजेसम्म २ घण्टा नृत्य प्रशिक्षण गर्नमा व्यस्त हुनुभएको हो ।
गोपीसँगै आयुष प्रजापति पनि नृत्य प्रशिक्षण गरिरहनुभएको छ । उहाँ महाकाली प्याखँमा महालक्ष्मीको भूमिका निर्वाह गर्दै हुनुहुन्छ । गोपी र आयुष मात्र होइन यतिखेर मध्यपुर थिमिका सयौं युवाहरु संस्कृति संरक्षणका लागि जुर्मुराएका छन । कोही नृत्य प्रशिक्षण गरिरहेका छन भने कोही बाजा सिक्दै छन ।
मध्यपुर थिमि नगरपालिकामा भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमी (गाईजात्राको भोलिपल्टदेखि चारदिन)सम्म विभिन्न देवी देवताका धार्मिक महत्वको ऐतिहासिक प्याखँहरु प्रदर्शन गरिन्छ । जसमध्ये महाकाली, भैलः प्याखँ र बोडेको निलबाराही देवगणको द्यः प्याखँ प्रमुख हुन ।


मध्यपुर थिमिमा महाकाली प्याखँ दुई स्थानबाट प्रदर्शन गर्ने परम्परा रहेको छ । एउटा तत्कालिन नगदेश गाविस हालको मध्यपुर थिमि वडा नं. ७ बाट र अर्को तत्कालिन चपाचो गाविस हाल मध्यपुर थिमिको वडा नं. ५ र ६ का विभिन्न टोलहरुबाट पालो मिलाएर महाकाली प्याखँ प्रदर्शन गरिन्छ ।
त्यसैगरी भैलः प्याखँ पनि दुई वटा छ । एउटा हो लाय्कू भैलः प्याखँ जुन तत्कालिन बालकुमारी गाविस हाल मध्यपुर थिमि वडा नं. ४ स्थित लाय्कू (दरवार)बाट प्रदर्शनमा ल्याईन्छ भने अर्को हो वडा नं. ५ र ६ चापाचो क्षेत्रको विभिन्न टोलहरुबाट पालो मिलाएर प्रदर्शन गरिने थिमि भैलः प्याखँ ।


यसवर्ष मध्यपुर थिमि वडा नं. ५ दिगुलीबाट महाकाली र लायुकूबाट लायकू भैलः प्याखँ प्रदर्शन गर्न युवाहरु जुर्मुराएका छन । जसको तयारीका लागि मध्यपुर थिमिका सयौं युवाहरु कोही नाच सिकाउन, कोही नाच सिक्न त कोही बाजा सिक्ने र बजाउने प्रशिक्षणमा व्यस्त छन । ती युवाहरुलाई बयोवृद्ध नाच तथा वाद्यगुरु ९६ वर्षिय श्रीगोपाल प्रजापति, अर्जुन श्रेष्ठ, निरञ्जन श्रेष्ठलगायतका गुरुहरुले संयोजन गरिरहनुभएको छ ।
दिगुलीबाट यसवर्ष करिव ७० वर्षपछि महाकाली नाच निकाल्न लागेको हो । मध्यपुर थिमिमा प्रचलनमा रहेको दुई वटा महाकाली प्याखँ मध्ये एक वर्षमा एक ठाउँबाट मात्र प्याखँ निकाल्ने परम्परा अनुसार यसवर्ष वडा नं. ५ दिगुलीबाट महाकाली प्याखँ निकाल्ने तयारी भएको हो ।


महाकाली प्याखँमा मुल रुपमा १६ देखी १७ जना कलाकारहरु रहन्छन । यस प्याखँमा महाकाली १, महादेवी १, महालक्ष्मी १, वेताल ४, भुत भैरव २, कवाँ २, ख्याक २, माक २, सिंह १ र दैत्य १ गरी १७ जना देवी देवताहरु रहन्छन । यसका साथै प्याखँका गुरुहरु, बाजा बजाउने वाद्यवादक, नाच्ने कलाकारहरुका सहयोगीहरु समेत गरी महाकाली प्याखँमा प्रत्यक्ष अप्रत्यक्षमा रुपमा ५० भन्दा बढी जनशक्ति आवश्यक रहन्छ ।
यसवर्षको महाकाली प्याखँमा गोपी प्रजापति महाकाली, आयुष प्रजापति महालक्ष्मी, कृष्ण भासिमा महादेवीको भूमिका निर्वाह गर्दैछन । वेतालको भूमिकाका अमन प्रजापति, रमित प्रजापति, कृजल प्रजापति र सुमन प्रजापति रहेका छन ।
त्यस्तै राम चक्रधर र कृष प्याथले ख्या, रोहन प्रजापति र सलोन प्रजापतिले भूत भैरव, निलभ प्रजापति र सिजन प्रजापतिले कवाँ, विकेश प्रजापतिले सिंह, श्रवण श्रेष्ठ र इशान प्रजापतिले माकःको भूमिका निर्वाह गर्दैछन ।


महाकाली प्याखँमा धाँ बाजा, खिँ बाजा, मुहाली बाजा र चाबौ बाजा गरी चार प्रकारका बाजा बजाइन्छ । यसवर्ष हरि प्रजापति, जितेन्द्र्र प्रजापति, विनय प्रजापति, विवेक प्रजापति र विनोद प्रजापतिलगायतका युवाहरु वाद्यवादक रहेका छन । मुहाली बाजाका लागि कपाली समूदायका वाद्यवादकको व्यवस्था गरिनेछ ।
महाकाली प्याखँको प्रशिक्षण मध्यपुर थिमिका जिवित साँस्कृतिक धरोहर नाच तथा वाद्यवाधन गुरु श्रीगोपाल प्रजापतिको संरक्षकत्व र अभिभावकत्वमा भइरहेको छ । जसमा अन्य चार युवाहरु समिर शंखदेव प्रजापति, राजकुमार चक्रधर, मनिष नापित र कृष्ण प्रजापतिले कलाकारहरुलाई नृत्य प्रशिक्षण दिईरहनु भएको छ ।


महाकाली प्याखँ प्रदर्शनको लागि करिव ५ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ । विशेषगरी नाच निकाल्न अनिर्वायरुपमा मुहाली बाजा बजाउनु पर्ने तर मुहाली बाजा बजाउने जनशक्तिको अभावमा पैसा दिएर जनशक्ति व्यवस्था गर्नुपर्ने, प्याखँ निकालेपछि परम्परागतरुपमा गर्नुपर्ने पुजाआजा र भोजभतेर, बाजाहरु, पोशाक र मुखुण्डोको ममर्तलगायतमा खर्च हुने महाकाली प्याखँ व्यवस्थापन समुहका राधेश्याम प्रजापतिले बताउनुभयो ।
उहाँले आर्थिक व्यवस्थापनका लागि समितिले आर्थिक समिति गठन गरेको र समितिको पहलमा नगरपालिका, वडा कार्यालय र स्थानीय बासिन्दाको सहयोगमा प्याखँ निकाल्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
“यो पाली दिगुलीबाट महाकाली निकाल्ने भएकाले त्यही टोलबाट रकम संकलन गरेका छौ । त्यसमा समुह बनाएका छौ । जो कोही इच्छुकले सहयोग दिन चाहे त्यो खुल्ला छ । त्यही समुहले टोल टोल र थिमि क्षेत्रका सहकारी संस्थाहरुमा रकम संकलन समेत गरेको छ,” उहाँले भन्नुभयो ।


कला र संस्कृती जगेर्नामा सधैं तत्पर प्रजापति समुदायले विभिन्न नाच (भैल प्याखः, महाकाली प्याखः, अस्तमातृका प्याखः, नागचा प्याखः, सलँचा प्याखँ), बासुरी बाजा, गुलाँ पर्बमा बजाइने धाः बाजा र अन्य बाजाको युवा पसतलाई प्रशिक्षण दिने कार्यलाई बर्षौ देखि निरन्तरता दिदै आइरहेको छ । यसैको निरन्तरता स्वरुप यसवर्ष महाकाली प्याखँ निकाल्ने तयारी भएको अर्को नाच गुरु समिर शंखदेवले बताउनुभयो ।
महाकाली प्याखँ पहिलो दिन नासःद्य (नाट्येश्वर)मा प्रदर्शन गरिन्छ । त्यसपछि प्याखँलाई क्रमशः मध्यपुर थिमिका चपाचो, गार्चा, ग्वगँ चिवाः, स्वंगाः पुखु, पाचो, दुवाफल्चा, पोबू, भुलाँख्य, ताहाननी, दिगुटोल, लाय्कू, दथुटोल, बालकुमारी, हात्तीमहांकाल, कुतिचिवाः, जलाननी, वाचुननी, कुमाननी, तुलननीमा प्रदर्शन गरिन्छ ।


यसैगरी मध्यपुर थिमि वडा नं. ४ बाट यसवर्ष पनि लायकू भैलः प्याखँ प्रदर्शन हुने भएको छ । करिव ४५ वर्षपछि २०७४ मा प्रदर्शन भएको लायकू भैलः कोरोना महामारीका कारण दुई वर्ष यता सञ्चालन हुन सकेको थिएन । यसवर्ष समयानुकुल भएकाले पुनः लाय्कु भैल प्रदर्शन गर्न लागिएको हो ।
मध्यपुर थिमिमा प्रचलित दुई वटा भैलः प्याखँ मध्ये दुई वटै एकै वर्ष प्रदर्शन गर्न नहुने परम्परा रहेको छ । लायकु भैलः निकाल्ने भएपछि चपाचो क्षेत्रका प्रजापति समूदायले भैलः प्याखँ निकाल्नु हुँदैन भन्ने मान्यता रहेको छ । लाय्कू भैलः ननिकाल्ने वर्ष प्रजापति समूदायले थिमिको विभिन्न टोलबाट पालो मिलाएर भैलः प्याखँ प्रदर्शनमा ल्याउने गरिन्छ ।
लायकू भैलः प्याखँमा न्हापा भैलः लिपा भैलः न्हापा दा गि लिपा दा गि र ज्यापुंगः गरी पाँच जना कलाकार रहन्छ । भैलः प्याखँमा एक पटकमा एक दर्जन दाँगा (काठ र छालाबाट बनेको बाजा), भूस्याय् बाजा आठ, पोङ्गा बाजा आठ र मुहाली (सनइ) चार जनाले बजाउने गरिन्छ ।
प्याखँ प्रदर्शनका बेला लामो समयसम्म निरन्तर बजाउने पर्ने भएकाले बाजा बजाउनेहरु समूह समूहमा हुन्छन र ती समूहले पालो पालो बाजा बजाउने भैलः प्याखँका गुरु अर्जुन श्रेष्ठले बताउनुभयो । लाय्कू भैलः प्याखँमा वाद्यवादक, देवी देवताका सहयोगी, प्याखँ व्यवस्थापक, गुरुहरुसहित गरी लाय्कु भैलः प्याखँमा पनि करिव एक सय जनाको समूह सक्रिय रहन्छ ।
यसवर्ष लाय्कू भैलः प्याखामा रिसल साः छेँ श्रेष्ठ ज्यापुंगः, उज्ज्वल छुँ श्रेष्ठ न्हापा भैलः, रोमन चितुवा श्रेष्ठ लिपाँ भैलः, सुजल सिबन्जा श्रेष्ठ न्हापा दा गिं र श्रयन छुँ श्रेष्ठ लिपा दा गिं बनेका छन । प्याखँका कलाकारहरुको उमेर १० देखी २३ वर्षका रहेको श्रेष्ठले बताउनुभयो ।


लाय्कू भैलः थिमिको लाय्कू, दथुटोल, बालकुमारी, दिगुली, गार्चा र गुङचिवालगायतका टोलमा चार दिन प्रदर्शन गरिन्छ । त्यसपछि कृष्ण जन्माष्टमीसम्ममा थिमीका अन्य टोलहरुमा प्रर्दशनीको लागि निम्तो आएमा ती टोलहरुमा प्याखँ देखाउने लाने परम्परा छ ।
लाय्कू भैल प्याखँ निकाल्न पनि परम्परागत पुजा, आवश्यक सामग्रीको जोहो र ममर्त, भोजका लागि लाखौं रुपैंया खर्च हुने गरेको श्रेष्ठले बताउनुभयो । त्यसका लागि एउटा कोष स्थापना गरिएको छ । कोषमा विभिन्न सहयोगी संघ संस्था, व्यक्ति, नगरपालिका र वडा कार्यालयले दिने सहयोग जम्मा हुने र सोही रकमबाट प्याखँ प्रदर्शनका लागि खर्च गर्ने व्यवस्था गरिएको छ । भोजका लागि टिकट समेत बिक्रि गरी आर्थिक संकलनको व्यवस्था गरिएको छ ।
त्यस्तै लाय्कू भैलः प्याखँमा बजाउने बाजाका लागि बाजाको पनि प्रशिक्षण भइरहेको छ । बाजा प्रशिक्षणमा पुराना बाद्यवादकहरु अभ्यासका लागि र नयाँ प्रशिक्षार्थी सिक्नका लागि प्रशिक्षण लिईरहेका छन । प्रशिक्षणमा नयाँ र पुराना गरी करिव एक सय जना युवाहरु सहभागी रहेको श्रेष्ठले बताउनुभयो ।
महाकाली र भैलः प्याखँको औपचारिक प्रशिक्षण गठेंमंगलको भोलीपल्टबाट मात्र शुरु गर्नुपर्ने परम्परा भएपनि महाकाली प्याखँको प्रशिक्षण दिगुलीमा र लाय्कू भैलःको प्रशिक्षण लाय्कूमा अनौपचारिकरुपमा भइरहेको छ । प्याखँमा सहभागी कलाकारहरु सबै नयाँ भएकोले अनौपचारिकरुपमा जेठ देखी नै प्याखँको प्रशिक्षण शुरु गरिएको महाकाली प्याखँका गुरु समिर शंखदेव प्रजापतिले बताउनुभयो ।
प्याखँको प्रशिक्षणका लागि नासःद्य (नाट्येश्वर)को विधिपूर्वक पुजा आराधना गरी सिद्धि प्राप्तिको कामना गरी प्रशिक्षण शुरु गर्नुपर्ने परम्परा रहेको छ । यसरी गरिने पुजालाई स्थानीय भाषामा नासःद्य सालेगु (तान्ने) भनिन्छ । नासःद्य तानेर ल्याएपछि सबै कलाकारलाई सगुन दिईन्छ । कलाकारहरुले सगुन लिएर औपचारिकरुपमा प्याखँको प्रशिक्षण शुरु गरेपछि अर्काको जुठो खान नहुने, कसैले नाग्न दिन नहुने र महिनावारी भएका महिलालाई छुन नहुने मान्यता रहेको छ ।
थिमि क्षेत्रमा महाकाली, भैलः प्याखँ जस्ता धार्मिक आस्थासँग जोडिएका प्याखँहरु कहिलेदेखी प्रदर्शनमा आएको भन्ने एकिन प्रमाण फेला नपरेपनि यस्ता प्याखँ सुवर्ण मल्लको पालामा प्रलचनमा आएको जनश्रुती पाईन्छ ।
मध्यपुर थिमिलाई भुतप्रेत, पिचाश र दानवी शक्तिबाट जोगाउन यस्ता परम्परागत धार्मिक आस्था बोकेको महाकाली, भैलः (भैरव), लाय्कु भैलः प्याखँ प्रत्येक वर्षको परम्परा शुरु भएको जनश्रुति रहेको छ । थिमि क्षेत्रका जनतालाई भूत, प्रेत र पिशाचहरूले समय समयमा दुःख दिने गरेपछि त्यसको समाधान खोज्न तान्त्रिक, शास्त्रीय र विद्वानहरूको सल्लाहमा तन्त्र साधनाद्वारा भैरवनाथ जगाई टोल टोलमा नचाइए भूतप्रेतले दुःख नदिने निष्कर्ष आएपछि सोही अनुसार भैरव नाच सञ्चालनमा आएको किम्वदन्ती रहेको छ ।
यस्ता प्याखँहरु वर्षेनी निकाल्ने परम्परा भएपनि केही दशकदेखी आर्थिक अभावका कारण यी प्याखँहरुको प्रदर्शन नियमित हुन सकेको छैन । स्थानीय निर्वाचन २०७४ पछि जनप्रतिनिधिहरुको बहालीपछि नगरपालिकाको सहयोगमा मध्यपुर थिमिमा महाकाली, भैलःलगायत परम्परागत नाचहरु ईन्द्र अप्सरा, सलँचा प्याखँ, अस्तमातृका प्याखँ, नागचा प्याखँ जस्ता धार्मिक र साँस्कृतिक महत्वका ऐतिहासिक नाचले पुनर्जिवन पाउँदै आएको छ । यस्मा थिमिका युवाहरुको सक्रियता पनि उत्तिकै रहेको छ ।