विरोधको शैली ः सडक नबनेपछि जनप्रतिनिधि नै सडकमा

भक्तपुर, असार २७
भक्तपुर र काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नगरकोट पुग्ने मुख्य सडक भक्तपुर–नगरकोट सडकको निर्माण कार्यमा भइरहेको ढिलाई प्रति विरोध जनाउँदैं चाँगुनारायण नगरपालिका वडा नं. ६ का जनप्रतिनिधिहरु आन्दोलित भएका छन । उनीहरुले विरोधस्वरुप सोमवार सडकमै कार्यालय स्थापना गरी सेवाग्राहीलाई सेवा समेत प्रदान गरेका छन ।
भक्तपुरको कमलविनायकदेखी नगरकोटसम्मको करिव १६ किलोमिटर लामो सडक चौडागरी स्त्तरोन्नती गर्न आठ वर्ष शैलुङ कन्ट्रक्सन प्रा. लि. र भारतीय निर्माण कम्पनीले संयुक्तरुपमा ठेक्का पारेको थियो । सडक निर्धारित समयमा सम्पन्न नहुँदा स्थानीयले वर्षातमा हिलो र घाम लाग्दा धूलोको सास्ती खेप्दै आएको छ । स्थानीयले पटक पटक आन्दोन गरी सडकको निर्माण सम्पन्न गर्न दवाव दिँदै आएका छन ।
गतवर्ष चाँगुनारायण नगरपालिकाका तत्कालिन प्रमुख सोमप्रसाद मिश्रले पनि दवावस्वरुप जनप्रतिनिधिमै आन्दोलनमा उत्रने चेतावनी दिनुभएको थियो । बागमती प्रदेशका भौतिक निर्माण तथा योजना मन्त्री कृष्णलाल भँडेलले पनि तत्कालिन यातायात तथा पुर्वाधार मन्त्री रेणु यादवसँग भेटगरी नगरकोट सडकको निर्माण समयमा सक्न र नसके ठेक्का रद्ध गरी निर्माण व्यवसायीलाई कारवाही गर्न दवाव दिनुभएको थियो ।
सोही दवावका कारण गत पुसमा निर्माण कम्पनी शैलुङले २०७८ चैत्र १५ गतेभित्र सडकको निर्माण कार्य सम्पन्न गरी चैत्र मसान्तभित्र हस्तान्तरण गर्ने प्रतिवद्धतासहित कार्यतालिका समेत सार्वजनिक गरेको थियो ।


तर निर्माण कम्पनीले आफ्नै कार्यतालिका र प्रतिवद्धता बमोजिम काम सम्पन्न गरेको छैन । निर्माणको कार्य अलपत्र छाडेको छ, जसले गर्दा वर्षातको समयमा स्थानीयले हिलोलगायतको सास्ती खेप्नु परेको छ नै दुर्घटनाको समेत जोखिम बढेको छ ।
सडकको निर्माणको कार्य तत्काल सम्पन्न गर्नुपर्ने स्थानीयको मागप्रति ऐक्यवद्धता जनाउँदै आफुहरु सडकमा आएर सेवा प्रदान गरेको वडा नं. ६ का वडाअध्यक्ष धनबहादुर लामाले बताउनुभयो ।
“सडकको निर्माणका लागि जति पटक जति आन्दोलन गरे पनि ठेकेदारले अटेर ग¥यो,” वडा अध्यक्ष लामाले भन्नुभयो, “हामी बाध्य भएर सडकमा आएका हौं, वडामा बस्नु सट्टा सडकमै बसेर ठेकेदार र सरकारको ध्यानाकर्षण गराउनका लागि विरोधको यो तरिका अपनाएका हौं ।”


वडाअध्यक्ष लामाले नगरकोट सडकको लामा टोलमा सडकमै टेबुल कुर्सी राखेर सेवा प्रवाह गर्नुभएको थियो । उहाँले सेवाग्राहीलाई सिफारिस लगायतका सेवा प्रदान गरेका थिए । उहाँलाई स्थानीय र नगरकोटका व्यवसायीहरुले समेत साथ दिएका थिए ।
ठेकेदारको मनपरी र ढिलासुस्तीले नबनेको नगरकोट सडकको ठेक्का तोडेर निर्माण व्यवसायीलाई कारवाही गर्न दवाब स्वरुप वडा कार्यालय नै सडकका सञ्चालन गरिएको वडा अध्यक्ष लामाले बताउनुभयो । उहाँले सडकमा उडिरहेको धुलो र धुँवा तथा घामको परवाह नगरी सेवा प्रदान गर्नुभएको थियो ।