उपत्यकाको प्राचिन खानेपानी व्यवस्थापन बारेको ‘हिति प्रणाली’ पुस्तक विमोचन

भक्तपुर, असार २३
काठमाण्डौं उपत्यकाको प्राचिन ढुंगेधारा प्रणालीको बारेमा पद्मसुन्दर जोशी लेख्नु भएको अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ पुस्तक विमोचन भएको छ । पब्लिकेशन नेपालयले प्रकाशन गरेको उक्त पुस्तक ललितपुर महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा बिहिवार काठमाण्डौं उपत्यकाका नगरप्रमुख, जनप्रतिनिधि, योजनाविद्, सम्पदा संरक्षण अभियानकर्ताका बीच विमोचन गरिएको हो ।
काठमाण्डौं उपत्यका कुनै बेला वास्तुकला, सम्पदा, मठमन्दिर र सँस्कृतिको अनुमप नमूना युक्त शहर थियो । राजधानी केन्द्रीत शासन व्यवस्था र प्रशासनका कारण उपत्यकामा दिन दुई गुणा रात चौगुना हिसाबले जनसंख्या बृद्धि भई अव्यवस्थित शहरीकरणको विकासले उपत्यकाको कला संस्कृति मात्र होइन थुप्रै प्रणाली भत्किएको छ । त्यस मध्ये एउटा हो, उपत्यकाको हिति प्रणाली ।
हिति प्रणाली उपत्यकाको एउटा अद्वितीय र सम्मुनत जल व्यवस्थापन प्रणाली हो । उपत्यकाका विभिन्न टोलमा रहेका प्राचिन पोखरी र ढुंगेधारामा निरन्तर पानीको व्यवस्था गरी पानीको नियमित आपुर्ती गर्न हिति प्रणालीको विकास गरिएको हो । यो प्रणालीको सबैभन्दा पुरानो लिखित प्रमाण किराँत र लिच्छवी काल (झण्डै १७०० वर्ष पहिले) अङ्कित गरिएको पाइन्छ । नेपाल भाषामा यि को सम्बन्ध येंचु अर्थात सफा हुन्छ भने भोट–बर्मेली भाषामा ति वा डि को अर्थ पानी हुने र यसरी हितिको अर्थ सफा पानी भन्ने बुझिन्छ ।
उपत्यका वरपरका पहाडका भिरालो पाखाबाट तल झरेका किराँतहरूसँग पानीको स्रोतको रूपमा मूल फुटेर बग्ने पानी सम्बन्धी ज्ञान थियो भने दक्षिणतिरबाट उपत्यका पसेका लिच्छवीहरूसित भूमिगत जल र इनारको । हिति प्रणाली यी दुबै ज्ञानको समिश्रणको उत्कृष्ट परिणामको रूपमा लिन सकिन्छ । मल्लकालका हितिहरूको कलात्मकता र प्राविधिक विशिष्टताले यस कालमा यी हितिहरू अरू परिष्कृत र व्यापक बनेको देखिन्छ ।
कुनै बेला उपत्यकामा पानीको प्रमुख स्रोतको रूपमा प्रयोग गरिने ल्हो हिति अर्थात् ढुंगेधाराहरू आज केही मात्रामा मात्र सञ्चालनमा छन । अधिकांश ढुंगेधाराहरु सुकेका छन भने कतिपय संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ ।
उपत्यकाको यही हिति प्रणालीका बारेमा यसका ज्ञाता पद्मसुन्दर जोशीले विभिन्न स्थानको अनुसन्धान गरी उपलब्ध सूचना र ज्ञान संकलन गरी हिति प्रणालीको उद्गम, यसको प्राविधिक पक्ष, व्यवस्थापनका स्थापित पद्धति र हाल आएर हिति प्रणालीमाथि भइरहेका व्यभिचारहरू र पुनर्निर्माणका सम्भावनाहरूलाई समेटेर पुस्तक तयार पारिएको छ ।
सो पुस्तकको विमोचन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरको हिति प्रणालीको पुनुरुत्थानका लागि महानगरपालिका तयार रहेको बताउनुभयो । उहाँले यसै वर्ष ललितपुरको हिति प्रणालीको प्रमुख स्रोतको रुपमा रहेको टीकाभैरव राजकुलो ब्यूँताउने अभियान अघि बढाएको जानकारी दिँदैं लगनखेलको सप्तपाताललगायतका पोखरीको पुनःनिर्माणको कार्य अघि बढ्ने बताउनुभयो ।
काठमाडौँ सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता पद्मसुन्दर जोशी पेशाले ईञ्जिनियर र दिगो शहरी विकासका योजनाकार हुन् । उहाँ उपत्यकाको पूर्वाधार विकासका साथै मूर्त तथा अमूर्त सम्पदाहरूको जगेर्नामा सक्रिय हुनुहुन्छ ।
उपत्यकाको हिति प्रणाली हिति ऐतिहासिक प्राविधिक चमत्कार भएको जोशीले बताउनुभयो । “यसले झण्डै दुई हजार वर्षदेखि पानीको बहाव व्यवस्थापन गरेको छ । हिति प्रणाली, भावी पिढी र संसारको सबैभन्दा आधुनिक प्रविधिका लागि पनि अकल्पनीय उदाहरण हो,” उहाँले भन्नुभयो ।