खराब ब्याटिङसँगै नेपाल क्यानडासँग ८३ रनले पराजित

भक्तपुर, असार २३
खराब ब्याटिङसँगै नेपालले क्यानडासँगको एकदिवसिय मैत्रीपूर्ण सिरिज ०–१ ले गुमाउन पुगेको छ । पहिलो अभ्यास खेल वर्षाले स्थगित भएपछि नेपाली समयअनुसार बिहिवार बिहान क्यानाडामा सम्पन्न दोस्रो खेलमा नेपाल घरेलु टोली क्यानाडासँग ८३ रनको पराजय भोगेको हो । योसँगै दुई खेलको अभ्यास खेलको सिरिज क्यानाडाले १–० ले जितेको हो ।
क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा टस हारेर जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । कप्तान सन्दिप लामिछानेको निर्णयलाई सही ठहर्याउँदै बलरहरुले उत्कृष्ट शुरुवात दिलाए ।
नेपालका लागि पहिलो ओभरमा तीव्र गतिका बलर किशोर महतोले क्यानाडाका ओपनर रयान खानपठानलाई १ रनमा बोल्ड आउट गरे । आदिल अन्सारीले दशौं ओभरको अन्तिम बलमा भूपेन्द्र सिंहलाई १० रनमा बोल्ड आउट गरे । स्पिनर बसिर अहमदले २० औं ओभरको चौथो बलमा विकेटकिपर विनोद भण्डारीबाट हर्ष ठकरलाई शून्यमा क्याच गराएपछि क्यानाडा ७२–४ को अवस्थामा पुग्यो ।
एक समय ३८ ओभरमा ११८–९ को अवस्थामा पुगेको क्यानाडालाई श्रेयस मोभा र अमर खालिदले अन्तिम विकेटका लागि ७० रनको सानदार अविजित साझेदारी गर्दै क्यानाडालाई १८८ रनको प्रतिस्र्धात्मक योगफलमा पुर्याए ।
नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए । बसिर अहमद, आदिल अन्सारी र करण केसीले एक एक विकेट लिए ।
जितको लागि १ सय ८९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल खराब व्याटिङका कारण ३९.२ ओभरमा १ सय ५ रनमा अल आउट भयो । नेपालका लागि देव खनालले सर्वाधिक २६ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले रन बनाउन सकेन । देवले ४९ बलमा २ चौकासहित २६ रन बनाए ।
नेपालका ओपनर कुशल भुर्तेल १७ बलमा १ रन र पवन सरार्फ २७ बलमा १४, रोहित पौडेल ६, दीपेन्द्रसिंह ऐरी गोल्डेन डक, आरिफ शेख डक, बसिर अहमद ४१ बलमा १३ र विनोद भण्डारी २३ बलमा १ छक्कासहित १३ रनमा आउट भए । आदिल अन्सारी १३ र सन्दीप लामिछाने ११ रनमा आउट भए । करण केसी पाँच रनमा अविजित रहे । क्यानाडाका अमर खालिद, सलमान नजर, रोमेल शहजाद, साद विन जाफर र हर्ष ठकरले दुई दुई विकेट लिए ।
क्यानाडाले यस खेलमा आफ्ना केही प्रमुख खेलाडीलाई विश्राम दिएको थियो । कप्तान नवनित धलिवाल, अष्ट्रेलियन म्याथ्यु स्पोर्स, हम्जा तारिक, कलिम सना लगायतका खेलाडी टिममा थिएन ।
नेपाल अब आईसीसी विश्वकप लिग २ सिरिज खेल्न स्कटल्यान्ड जानेछ ।स्कटल्यान्डमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नेपाललाई आगामी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्तरता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका

असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल

असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल

असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया

साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

अंक तालिका

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा छ । नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।