प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते गर्न आयोगको सिफारिस

भक्तपुर, असार २२
निर्वाचन आयोगले आगामी मंसिर २ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारी टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति सिफारिस गरेको हो ।
आयोग पदाधिकारीले निर्वाचनको तयारीका १ सय २० दिन आवश्यक भएको र सोही अनुसार निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । निर्वाचनको मिति आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ ।
आयोगले निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग बढाउँदै जानुपर्ने सुझाव पनि सरकारलाई दिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले ६ वटा निर्वाचन क्षेत्रहरुमा र वि.सं.२०७१ सालको संविधानसभा उपनिर्वाचनमा पाँचवटा निर्वाचन क्षेत्रमा विद्युतीय मतदान यन्त्र प्रयोग गरिएको थियो ।