महिला साफ च्याम्पियनसिप नेपालमा हुने

भक्तपुर, असार १९
दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को शनिवार बंगलादेशको ढाकामा सम्पन्न बैठकले नेपालको प्रस्तावलाई स्वीकार गरेपछि नेपालमा महिला साफ च्याम्पियनसिप हुन लागेको हो ।
नेपालको प्रस्ताव अनुसार साफ च्याम्पियनसिप भदौं १३ देखि २५ (अगस्ट २९ देखि सेप्टेम्वर १०) सम्म आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको नेतृत्वमा रहेको नेपाली टोलीले साफ च्याम्पियनसिप काठमाडौंमा आयोजना गर्न प्रस्ताव गरेको थियो । सो प्रस्तावलाई साफ अर्डिनरी कंग्रेस २०२२ अघिको साफको कार्यकारी समितिको बैठकले अनुमोदन गरेको थियो ।
नेपालले यसअघि सन् २०१९ मा पाँचौं संस्करणको महिला साफ विराटनगरमा आयोजना गरेको थियो । जसमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।


बैठकले यु–१७ साफ च्याम्पियनसिप भदौ २० देखी ३१ सम्म श्रीलंकामा आयोजना गर्ने निर्णय समेत गरेको छ । बैठकमा एन्फाका महासचिव किरण राई, सदस्य विकास नारायण श्रेष्ठ र न्यूरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी सहभागी छन् ।
बैठकले काजी मोहम्मद सलाहुद्दीनलाई साफको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । उनले अब २०२६ सम्म कार्यभार सम्हाल्नेछन् । त्यस्तै भुटान फुटबल फेडेरसनका उगेन वाङ्चुकलाई साफको कार्यकारी सदस्य र श्रीलंका फुटबल महासंघका अध्यक्ष जसवर उमरलाई साफको प्रतिनिधित्व गर्ने एएफसी कार्यकारी समितिको सदस्यमा नियुक्त गरेको छ । त्यस्तै साफ अनुशासन तथा आचार संहिता र साफ आचार संहिता पनि कार्यकारी समितिबाट स्वीकृत भएको छ ।