बागमती प्रदेश भलिबलमा पुलिस च्याम्पियन

भक्तपुर, असार १९
नेपाल पुलिस क्लब प्रथम बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित ईन्द्रायणी बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको फाइनलमा अर्काे विभागीय टोली नेपाल एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।
पुलिसले २५–१६, २७–२५ र २५–१९ को सेटमा जित निकाल्यो । पुलिस अपराजित रहेर च्याम्पियन बनेको हो । शनिबारै परोपकार आदर्श माध्यमिक विद्यालयलाई २५–१२, २५–१४ र २५–२३ को सोझो सेटमा जित निकाल्दै आयोजक होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गरेको छ ।
उपाधिसँगै पुलिसले ५ लाख रुपैया र शिल्ड हात पारेको छ । दोस्रो भएको एपिएफले २ लाख ५० हजार रुपैयाँ हात पारे । तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले १ लाख २५ हजार तथा चौथो भएको परोपकार आदर्श माध्यामिक विद्यालयले ७५ हजार रुपैयाँ हात पारेको छ ।


नेपाल पुलिस क्लबकी कोपिला राना प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिँदै २५ हजार रुपैयाँ र ट्रफी हात पारिन् । न्यु डायमन्डकी सलिना बुढा मगर उदियमान खेलाडी हुँदै २० हजार रुपैयाँसँगै ट्रफी हात पारिन् । एपिएफकी रेश्मा भण्डारी उत्कृष्ट स्पाइकर, एपिएफकै उषा कुमारी विष्ट उत्कृष्ट ब्लकर, पुलिसकी कमला पुन उत्कृष्ट सेटर, डायमन्डकी एन्जिला प्रधान उत्कृष्ट लिवेरो र पुलिसका रुपेश कुमार विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान १० हजार रुपैयाँ र शिल्ड हात पारे ।
प्रतियोगिताको मुख्य उद्देश्य न्यू डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कार वापतको २० प्रतिशत दिनुपर्नेछ । विजयी टोली तथा खेलाडीलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, उपाध्यक्ष हिक्मत थपलिया, क्लबकी अध्यक्ष सुनकेशरी माली, नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दलगायतले पुरस्कृत गरे ।