मनोहरा क्षेत्रमा भद्राई प्रजातिको तराईको रैथाने चरा ‘चित्रक’ देखियो

भक्तपुर, असार १६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित मनोहरा मिनि कोशीतप्पुमा भद्राई चराको प्रजाति ‘चित्रक’ देखा परेको छ । विगत ६ वर्षदेखि मनोहरा र काठमाण्डौं उपत्यकाका विभिन्न क्षेत्रमा नियमित चरा अनुगमनमा क्रियाशील मध्यपुर थिमि–८ बोडेका वन्यजन्तु फोटोग्राफर तथा पंक्षीप्रेमी सञ्जय था श्रेष्ठको समूहले मनोहरामा तराईको रैथाने चरा ‘चित्रक’ फेला पारेका हुन ।
मनोहरा क्षेत्रमा वर्षायाममा आउने आगन्तुक चराहरुको अभिलेख गर्नेक्रममा पहिलो पटक ‘चित्रक’ भेटिएको श्रेष्ठले बताउनुभयो । चित्रक भेटिएसँगै मनोहरामा अभिलेख भएका आगन्तुक र रैथाने पक्षीको संख्या २३९ पुगेको छ । गत वर्ष मनोहारामै पानी गौँथली, सेतो जुँगे, बगेडीलगायतका पक्षीको अभिलेख भएको थियो ।
चित्रक तराई खयरको जङ्गल आसपासका गाईबस्तु चर्ने झाडी र बुट्यायनमा पाईने चरा हो । किरा, फट्याङ्ग्रा खाने, पूर्वदेखि पश्चिम तराईको रैथाने चित्रक यसअघि काठमाण्डौंमा अभिलेख नभएको पक्षीविद् डा. हेमसागर बरालले बताउनुभयो । “नेपाली समाजले राम्रोसँग चिनेजानेको चित्रक सक्रिय मनसुनअघि तराईबाहेक उच्च पहाडी भेगमा पनि फाट्टफुट्ट देखिएको थियो तर उपत्यकामा भने यो पक्षी पहिलो पटक देखियो”, उहाँले भन्नुभयो । चित्रक विचरणका क्रममा बाटो बिराएर मनोहरा आएको हुन सक्ने बरालको ठहर छ । तराईका अन्य भेगको तुलनामा कोसी टप्पु वन्यजन्तु आरक्षमा यो पक्षी बाह्रैमास देख्न सकिन्छ ।
नेपालसहित दक्षिण एसिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, तुर्केमिनिस्तानमा पाईने भद्राईका विभिन्न ३३ प्रजाति मध्ये नेपालमा हालसम्म ६ प्रजातिको अभिलेख भएको पाईन्छ । नेपालमा पाईने भद्राईका प्रजातिमा भद्राई, खैरो भद्राई, रातो भद्राई, हिमाली भद्राई, राज भद्राई र चित्रक हुन । चीन, मंगोलिया र उत्तरी ध्रुवमा चिसो बढेसँगै जाडो छल्न यी प्रजाति नेपाल र अन्यत्र बसाइँ सर्ने गर्छन् । मौसममा सुधार आएपछि आफ्नै थातथलो फर्किन्छन् ।
नेपालकै ४ हजार मिटर उचाइ हाराहारीमा पाइने हिमाली भद्राई हिउँदमा तराईतिर झर्ने गर्छन् तर बच्चा कोरल्ने समयमा उच्च भेगतिरै फर्कन्छन । तराईको रैथाने राज भद्राईलाई पक्षीविद्हरूले ‘विरलै भेटिने सूची’मा सूचीकृत गरेका छन् ।
भद्राई चराको सम्बन्ध नेपाली लोकसँस्कृतिसँग पनि जोडिएको पाईन्छ । बच्चाको पास्नीमा भद्राई चराको चुच्चोमार्फत खाना खुवाए बच्चा चलाख हुने, छिटो बोल्न सक्ने र बोलीमा मिठास हुनाका साथै अरुलाई आफ्नो बोलीको बसमा पार्न सक्ने जनश्विास रहेको छ ।

तस्विर सौजन्य ः सञ्जय था श्रेष्ठ