चित्तापोलमा वर्षाले पर्खाल भत्किँदा ६६ वर्षिया महिलाको मृत्यु

भक्तपुर, असार १६
भक्तपुरको चित्तापोलमा एक घरको पर्खाल भत्किँदा ६६ वर्षिया महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१०, चित्तापोल लाँपुलीस्थित कान्छा श्रेष्ठको घर आँगनमा लगाईएको करिव १२ फिट अग्लो कच्ची पर्खाल वर्षाका कारण बुधवार साँझ भत्किँदा स्थानीय ६६ वर्षिया नारायणदेवी थापाको पुरिएर मृत्यु भएको हो ।
पर्खालमुनि हिँडिरहेकी थापाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । “बुधवार साँझ ५ बजे पर्खाल भत्किएर पैदल हिँडिरहेकी महिला पुरिएर घटनास्थलमा नै मृत्यु भएको हो,” पाण्डेले भन्नुभयो । घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।