असार १५, १९ औं राष्ट्रिय धान दिवस र दही चिउरा

भक्तपुर, असार १५
‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ आज १९ औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गर्दै देशभर मनाईंदैं छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
असार १५ मा रोपाईं गरी दही चिउरा खाने लोक परम्परालाई जिवन्त राख्नुका साथै खाद्यान्नमा धानको महत्व झल्काउन र धान उत्पादनमा बृद्धि गर्दै जाने उद्देश्यले सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउन थालेको हो ।
राष्ट्रिय धान दिवसको अवसरमा भक्तपुरमा पनि विविध कार्यक्रम गरी मनाईंदैछ । अखिल नेपाल किसान महासंघले सूर्यविनायक नगरपालिका १ सिरुटारमा रोपाईं कार्यक्रम आयोजना गरेको छ । दिउँसो १२ बजे हुने कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री के पी शर्मा ओलीलगायतका नेता कार्यक्रममा सहभागी हुने जनाएको छ ।
यसैगरी नेपाल किसान संघको आयोजना, नेपाली कांग्रेस सूर्यविनायक १ नं. वडा कार्यसमितिको संयोजनमा सिरुटारमै दिउँसो १ बजे विन्दवासिनी पार्टी प्यालेस ठिक अगाडिको खेतमा रोपाइ कार्यक्रम आयोजना गरेको छ । रोपाईंपछि दही चिउराको व्यवस्था गरिएको नेपाली कांग्रेस भक्तपुरका जिल्ला सचिव सुशिल बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको उपस्थिती रहने बस्नेतले बताउनुभयो ।


रोपाईंलाई नेपालमा महोत्सवमा लिने गरिन्छ । रोपाईंको दिन बाजागाजासहित नाचगान गर्ने परम्परा अझै पनि नेपालका विभिन्न जिल्लामा प्रचलनमा रहेको छ । वर्षको एक दिन हिलोसँग खेल्नु पर्ने मान्यता बमोजिम असार १५ मा विगतमा राजारानीले समेत खेतमा गई रोपाई गर्ने परम्परा थियो । रोपाईंपछि दही चिउरा खाएर रमाइलो गर्ने परम्परा समेत रहेको छ ।
असार १५ को दिन असारे भाकामा लोकदोहोरी गाउँदैं रोपार, बाउसे, व्याडे सबै खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । औपचारिकरूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दहीच्युरा खाने लोकसंस्कृति प्राचीनकालदेखि चल्दै आएको छ ।
संस्कृतिकर्मी ओम धौभडेलका अनुसार असार १५ मा दही चिउरा खाने चलन लिपिबद्ध गरेको इतिहास नभएपनि राष्ट्रिय पर्वको रुपमा विकास भइसकेको छ । उहाँले शरिरको पुरै शक्ति रोपाईको समयमा खर्चिने हुँदा त्यसको परिपुर्तीको लागि पनि दही चिउरा खाने परम्परा थालेको बताउनुभयो । दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वासले कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । नेवारी परम्परा अनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिईने सगुन होस या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । पछिल्लो समय पार्टी भोज लगायत दैनिक उपभोगमा समेत दहीको प्रयोग बढ्दै गएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ ।