मनोहरा नदि आसपासका बासिन्दालाई सचेतना अपनाउन नगरप्रमुखहरुको अपिल

भक्तपुर, असार १४
भक्तपुर र काठमाडौंका तीनवटा नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण मनोहरा खोलाको बहाव बढेर धार परिवर्तन गरी खोलाले दुवैतर्फ जमीन कटान गरिरहेकाले सचेतना अपनाउन नगरबासीसँग आग्रह गरेका छन ।
काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मंगलवार संयुक्त अपिल जारी गर्दै सचेतना अपनाउन आग्रह गर्नुभएको हो ।
‘‘खोलाको वहावले कागेश्वरी मनोहरा नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरथिमि नगरपालिकाको भू–भाग हुँदै दुवैतर्फ जमीन कटान भई घर, बस्तीलगायतको अन्य संरचनामा समेत क्षति पु¥याउँदै आएको छ । यसबाट मानवीय क्षतिसमेत हुनसक्ने भएकाले सचेतना अपनाउन सम्पूर्ण नगरवासीहरुमा अनुरोध गर्दछौं,’’ अपिलमा उल्लेख छ ।


अपीलमा हाल अल्पकालीन रुपमा खोलाको कटानलाई नियन्त्रण गरी धन जनको क्षति हुन नदिन खोलाको वहावलाई सामान्य अवस्थामा ल्याउन प्रयास भइरहेको उल्लेख गर्दै नगर प्रमुखहरुले स्थलगत निरिक्षण गर्दा जोखिम देखिएको र हुनसक्ने क्षेत्रमा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितीमा धनजनको क्षति हुनबाट रोक्न अत्यावश्यक सुधार गर्नुपर्ने भएकाले उक्त कार्यमा सहयोग गर्नहुन नगरवासीमा अनुरोध समेत गर्नुभएको छ ।


नगर प्रमुखहरुले मनोहरा खोलाको तटबन्धसहितको दिगो व्यवस्थापनका लागि तत्काल संयुक्तरुपमा आवश्यक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन । अपिल जारी गर्नुअघि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्की, भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख खत्री र मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र र उपप्रमुख विजयकृष्ण, प्रमुख प्रशासकिय प्रमुख चुरामणी पन्थी, वडा नं. ९ का वडाअध्यक्ष सानुकाजी राजबहाकलगायतका जनप्रतिनिधिहरुले क्षतिग्रष्ट क्षेत्रको स्थलगत अवलोकन गरेका थिए ।
बिहिवार बिहान अपडेट गरिएको ।