शिक्षक शिक्षिकालाई दुई दिने फोहोरमैला व्यवस्थापन तथा कौसी खेती तालिम

भक्तपुर, असार १३
भक्तपुर नगरपालिकाले फोहोर व्यवस्थापन सहज बनाउन शिक्षक शिक्षिकाहरुलाई दुई दिने फोहोरमैला व्यवस्थापन तथा कौसी खेती तालिम प्रदान गरेको छ । भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा तालिम सोमवारबाट शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै नगरप्रमुख सुनिल प्रजापतिले घरघरबाट नै कुहिने र नकुहिने फोहर छुट्याउन सके फोहोर व्यवस्थापनमा धेरै सहज हुने बताउँदैं कौसी खेती तालिम फोहोर व्यवस्थापनमा पनि सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
विकसित देशहरुले फोहोरलाई व्यवस्थापन गरी मोहोरमा रुपान्तरण गरिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले काठमाण्डौं उपत्यकामा फोहोर चुनौतिको रुपमा खडा हुनुमा व्यवस्थापनको कमजोरी भएको बताउनुभयो ।
उहाँले कौशी खेतीलाई आवश्यक प्रांगारिक मल घरकै उत्पादन गर्न सके एकातिर फोहोर व्यवस्थापनमा सहज हुने र अर्कोतर्फ कृषि उत्पादन बृद्धि हुनाका साथै परनिर्भरता समेत कम हुने बताउनुभयो ।


तालिमका प्रशिक्षक सबिन ख्याजूले विषादीयुक्त तरकारी र फलफूलका कारण धेरै नागरिकहरु क्यान्सरजस्ता खतरनाक रोगबाट मृत्युवरण गरिरहेको यथार्थबारे अवगत गराउँदैं किसानहरुले जैविक विषादीको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
वडा नं. १ का वडाअध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपालाई आत्मनिर्भर र सुन्दर बनाउन कौसी खेती तालिम सञ्चालनमा जोड दिँदै आएको बताउँदैं नगरपालिकाले पाक्षिक सरसफाईलाई समेत निरन्तरता दिँदै आएको जानकारी दिनुभयो । तालिममा वडाका ११ वटा विद्यालयबाट २÷२ जना शिक्षक–शिक्षिकाहरुको सहभागिता रहेको छ ।