भक्तपुर नगरपालिकाको नगरसभामा एमसीसी र एसपीपी बारे छलफल

भक्तपुर, असार १२
भक्तपुर नगरपालिकाको नगरसभामा एमसीसी र एसपीपी सम्झौताबारे छलफल भएको छ । नगरपालिकाको १२ औं नगरसभाको आइतवार बसेको बैठकको विशेष समयमा नगरसभा सदस्यहरुले एमसीसी र एसपीपी सम्झौताबारे आप्mना धारणा राखेका थिए ।
नगरसभाको विशेष समयमा सदस्यहरु रामसुन्दर बासी, गंगालक्ष्मी बमनु, कल्पना शिल्पकार, पुरुषोत्तम तमखू, इन्द्रबहादुर प्याठले एमसीसी र एसपीपी सम्झौता राष्ट्रघाती भएकोले खारेज हुनुपर्ने र दुवै सम्झौताबारे जनतालाई सचेत पार्नुपर्ने धारणा राख्नुभएको थियो । साथै उहाँहरुले सिद्धपोखरी वरिपरि हरियाली प्रवद्र्धन गर्नुपर्ने, घरभाडा कर उठाउनुपर्ने, देको मिवा इतापाके आवास योजना छिटो सम्पन्न गर्नुपर्ने, नगर प्रहरीको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै नगरसभा सदस्यहरु कृष्णगोपाल चौगुठी, हेरा ख्याजु, श्यामसुन्दर मातां, नारायणप्रसाद त्वानाबासु, कृष्णनारायण दुमरु, सूर्यप्रसाद श्रेष्ठ, मञ्जुमैया लाखा, सिद्धिराम अवाल, जितेन्द्र मुनंकर्मी र गोविन्द दुवालले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्दै हनुमानघाट सुधारको योजना ल्याउनुपर्ने, भनपा ७ स्थित पाँचाख्योमा हरियाली प्रवद्र्धन गर्नुपर्ने, सडक बत्ती मर्मत सम्भार गर्नुपर्ने, साना र दुई पांग्रे सवारीसाधन पार्किङ व्यवस्था गर्नुपर्ने, नगरकोट सडकको दायाँबायाँ पेटी बनाउनुपर्ने, नगरबासीहरुलाई सरुवा रोगबाट बचाउन खानेपानीको फिल्टरको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
यसैगरी बैठकमा नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजित बजेटबारे दफावार छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै नगरसदस्य हेरा ख्याजुले संघ र प्रदेशको बजेट समयमै प्राप्त गर्न पहल गर्नुपर्ने, महेश्वरी खेलमैदानको लागि छुट्याएको बजेट अपुग भएको बताउनुभयो ।
त्यस्तै नगरसदस्य पुरुषोत्तम तमखुले इखालाछी मठ पुनःनिर्माणको लागि छुट्याएको बजेट कम भएको, जितेन्द्र मुनंकर्मीले नपाले आर्थिक स्रोत बढाउनेतर्फ ध्यान दिनुपर्ने, हरिरत्न गोर्खालीले नपाको बजेट समाजवादउन्मुख भएको बताउँदैं वडास्तरीय योजनामा छुट्याइएको रकम समयानुसार वृद्धि गर्नुपर्ने बताउनुभयो ।
अर्का सदस्य रामसुन्दर बासीले भौतिक निर्माणमा जोड दिनुपर्ने, नपाले मानसिक रोग विशेषज्ञको व्यवस्था गर्नुपर्ने, सामुदायिक विद्यालयमा भौतिक सुधार गर्न बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो ।
बैठकको अध्यक्षता गरिरहनु भएका नगरप्रमुख सुनिल प्रजापतिले नगरको शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई क्रमशः प्राथमिकतामा राखी बजेट छुट्याएको प्रष्ट पार्दै नगरबासीहरुबाट प्राप्त राय सुझावका आधारमा जनमुखी बजेट निर्माणमा नपाले जोड दिएको बताउनुभयो ।