पेट्रोलियम पदार्थको मूल्य भारी कटौती, पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्यो

भक्तपुर, असार ११
सरकारले आज राती १२ बजेदेखी लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य भारी कटौती गरेको छ । सरकारले पेट्रोलियम पदार्थको कर समायोजन गरी मूल्य घटाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आकिस्मक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर कटौती गर्दै मूल्य घटाइएको बताउनुभयो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रुपैयाँ पुगेको मन्त्री बडूले जानकारी दिनुभयो । सरकारले खाना पकाउने ग्यासमा भने मूल्य घटाएको छैन ।
नेपाल आयल निगमले हालै मूल्य समायोजन गर्दै पेट्रोल डिजेल र मट्टीतेलको मूल्य क्रमशः प्रतिलिटर १९९, १९२ र १९२ रुपैयाँ तोकेको थियो । पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धि भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन र सडक दुवैमा सशक्त आवाज उठाउन थालेपछि आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले महँगी नियन्त्रणका लागि पेट्रोलियम पदार्थको मूल्य भारी घटाउन सरकारलाई निर्देशन दिएको थियो । सो निर्देशन लगत्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आकिस्मक पत्रकार सम्मेलन गर्दै पेट्रोलियम पदार्थको मूल्य भारी कटौती गरेको हो ।