आ. व. २०७९÷८० का लागि मध्यपुर थिमि नगरपालिकाको कुल ३ अर्ब १५ करोड १० लाख ५८ हजार रुपैंयाको बजेट सार्वजनिक

भक्तपुर, असार १०
मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि कुल ३ अर्ब १५ करोड १० लाख ५८ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको शुक्रवार शुरु भएको छैंटौं नगरसभा बैठकमा उपप्रमुख विजयकृष्ण श्रेष्ठले आर्थिक वर्ष २०७९÷८० का लागि सो बजेट सार्वजनिक गर्नुभएको हो ।
विनियोजित बजेटमा नगरपालिकातर्फ चालु र पुँजीगत खर्च गरी कुल एक अर्ब ७८ करोड, १० लाख ५० हजार रुपैंया विनियोजन गरिएको छ । त्यसैगरी नगरपालिकाद्धारा सञ्चालित कमेरोटार जग्गा एकिकरण आयोजनातर्फ ६० करोड ८७ लाख ६२ हजार, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालतर्फ ५७ करोड ३७ लाख ४६ हजार, सामाजिक सुरक्षा भत्तातर्फ १८ करोड र सडक बोर्ड नेपालको ७५ लाख विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
नगरपालिका तर्फको एक अर्ब ७८ करोड, १० लाख ५० हजार रुपैंया मध्ये चालुतर्फ ५९ करोड ५९ लाख ४४ हजार, वडागत योजना तथा कार्यक्रमका लागि प्रत्येक वडालाई ३ करोड एक लाखका दरले २७ करोड ९ लाख, नगर स्तरिय र सार्वजनिक निर्माणका लागि ५७ करोड ६९ लाख ५६ हजार, क्रमागत आयोजनाका लागि १२ करोड ८० लाख, सडक बोर्ड समपुरक म्याचिङ्ग अनुदानका लागि ४ करोड ७० लाख र नयाँ नगर स्तरिय प्रशासनिक भवन तथा वडा प्रशासनिक भवन निर्माणका लागि १६ करोड २२ लाख ५० हजार विनियोजन गरिएको छ ।


मध्यपुर थिमि नगरपालिकाले आ. व. २०७९÷८० का लागि विनियोजित बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आय (मौज्दात समेत) ७७ करोड ८ लाख १५ हजार, राजश्व बाँडफाँड (संघिय, प्रदेश र स्थानीय)बाट ४३ करोड ४ लाख ६१ हजार, संघिय सरकारको समानीकरण अनुदानबाट २४ करोड १९ लाख, प्रदेश सरकार समानीकरण अनुदानबाट २ करोड ४३ लाख ८० हजार, सशर्त अनुदानतर्फ २५ करोड १४ लाख, संघिय सरकार समपुरक अनुदान ७० लाख, प्रदेश सरकार समपुरक अनुदान ३ करोड, नगद जनसहभागिता १४ लाख ५० हजार, सर्शत अनुदान प्रदेश सरकार २ करोड ३६ लाख ४४ हजार आम्दानी हुने अनुमान गरिएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
उपप्रमुख श्रेष्ठले चालु आर्थिक वर्ष २०७८÷०७९ को आर्थिक गतिविधि तथा बजेट कार्यान्वयनको समिक्षा प्रस्तुत गर्दै २०७९ जेठ मसान्तसम्म एक अर्ब २८ करोड ७२ लाख ४७ हजार रुपैंया आय भएको जानकारी दिनुभयो । नगरपालिकाको चालु आर्थिक वर्षको बजेट एक अर्ब ७७ करोड ३४ लाख ४८ हजार रुपैंयाको थियो ।