पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिईंदैं

भक्तपुर, असार ९
सरकारले आजबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोनाविरुद्धको फाइजर बोयएनटेक खोप दिईंदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २७ जिल्लामा खोप अभियान सञ्चालन गर्न लागेको हो । विद्यालयबाट नै सञ्चालन गरिने खोप कार्यक्रममा बालबालिकालाई १५ असारसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा बाग्मती प्रदेशका भक्तपुर, मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलान्चोक, ललितपुर गरी सात जिल्लामा खोप अभियान सञ्चालन हुनेछ । त्यस्तै प्रदेश एकमा झापा, इलाम, सुनसरी, मोरङ गरी चार, मधेस प्रदेशमा सप्तरी, सिराह, धनुषा, महोत्तरी, पर्सा गरी पाँच जिल्लाका बालबालिकालाई खोप दिईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्रा डा. संगीता मिश्राले जानकारी दिनुभयो ।
त्यसैगरी गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्व गरी दुई जिल्ला, लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया गरी पाँच जिल्ला, कर्णली प्रदेशका सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कन्चनपुर र डडेल्धुरा गरी तीन जिल्लामा खोप अभियान सञ्चालन हुनेछ ।
बाँकी रहेका ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रोको खोप अभियान सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।
फाइजर बायोएनटेक खोप अन्य कोभिड खोपजस्तै सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । परिवारकल्याण महाशाखाका निर्देशक डा.विभेककुमार लालले कोरोनाविरुद्धको फाइजर बायोएनटेक खोप ९१ प्रतिशत सुरक्षित र प्रभावकारी भएको बताउनुभयो । खोपले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाई गम्भीर सङ्क्रमण हुनबाट बचाउने महाशाखाका जनस्वास्थ्य विज्ञ सञ्जयकुमार महासेठले बताउनुभयो ।
खोप सल्लाहकार समितिको सिफारिसपछि नेपालमा बालबालिका लागि खोप दिने प्रक्रिया अगाडि बढेको हो । मन्त्रालयका अनुसार खोपलाई विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन प्रयोगका लागि सूचीकृत गर्नुका साथै नेपालमा प्रयोग गर्न औषधि व्यवस्था विभागले अनुमती प्रदान गरिसकेको छ ।
बालबालिकालाई दिईन लागेको फाइजर बोयएनटेक खोप पाँच वर्षभन्दा कम र १२ वर्षभन्दा बढी उमेर भएका, पहिलो मात्रा खोप लगाएर कुनै गम्भीर प्रकारको एलर्जी भएमा, कोभिड भएका, गम्भीर बिरामी भएका वा उच्च ज्वरो आएका इम्युनोग्लोबुलिन, कन्भलेसेन्ट प्लाज्मा उपचारमा बस्नुभएका बिरामीलाई नलगाउन चिकित्सकको आग्रह छ । इम्युनोग्लोबुलिन, कन्भलेसेन्ट प्लाज्मा उपचार लिएको ९० दिनपछि यो खोप लगाउन मिल्ने चिकित्सक बताउँछन् । कोभिड संक्रमण भएको ३० दिनसम्म खोप लगाउन मिल्दैन ।
खोप लगाईसकेपछि खोप लगाएका १० जनामध्ये सरदर १ जनामा सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, आलस्य हुने, जाडो हुने, ज्वरो आउने हुन्छ । यस्तै, खोप लगाइसकेपछि सामान्यतया हुने १०० जनामध्ये एकजनामा वाकवाकी लाग्ने, वान्ता लाग्ने, सुई लगाएको रातो ठाउँमा रातो हुने हुन्छ ।
एक हजार जनाले खोप लगाउँदा एकजनामा कम मात्रामा शरीर चिलाउने, बिमिरा आउने, डाबर आउने, आलस्य महशुस हुने, सुई लगाएको ठाउँमा चिलाउने हुन सक्छ । कोभ्याकस सुविधाअन्तर्गत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप अनुदानमा उपलब्ध गराएको हो ।