आदर्श चोक दुर्घटना अपडेट – मृतक एक जनाको पहिचान खुल्यो

भक्तपुर, असार ९
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श चोक नजिक भएको सवारी दुर्घटनामा मृत्यु भएका दुई मध्ये एक जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा एक जना भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी बस्ने १९ वर्षिय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) राजु पाण्डेका अनुसार एक जनाको अझै सनाखत हुन सकेको छैन । भक्तपुरको आदर्श चोक नजिक सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदैं गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई जगातीबाट सूर्यविनायक चोतर्फ आउँदैं गरेको बा ४ ख ५२९८ नम्बरको टिपरले बिहिवार बिहान २ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा घाईते मोटरसाइकलमा सवार दुवै जनालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा करिव ३ बजेतिर दुवै जनाको मृत्यु भएको हो । मृतकको शव भक्तपुर अस्पतालमा रहेको छ ।
प्रहरीले ठक्कर दिने टिपर र टिपर चालक मेलुङ गाउँपालिका ३, दोलखा घर भई हाल काठमाण्डौ सुकेधारा बस्ने ३५ वर्षिय धन बहादुर थोकरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।