भक्तपुर नगरपालिकाको १२ औं नगरसभा शुरु

भक्तपुर, असार ८
भक्तपुर नगरपालिकाको १२ औं नगरसभा बुधवार शुरु भएको छ । सो नगरसभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले शासक दलको सत्ता मोहले गर्दा जनताले दुःख पाइरहेको बताउनुभयो ।
उहाँले मन्त्रीले ऐन लागु गर्ने भन्दा पनि नीतिगत काममा जोड दिनुपर्ने बताउनुभयो । नेपालका युवाहरुलाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेकोेमा चिन्ता व्यक्त गर्दै उहाँले एसियामा तेस्रो विश्वयुद्ध हुने सम्भावना प्रबल रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न सके देशभरिका विद्यार्थीहरु लाभान्वित हुने बताउँदैं उहाँले भक्तपुर नपाले चित्रकला विषयको अध्यापनमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतीय एकाधिकारी पुँजीले नेपाललाई अघोषित नाकाबन्दी गरिरहेको बताउँदैंै नेपाल सरकारको बजेट जनमुखी नभई पुँजीपति वर्गको हितमा रहेको आरोप लगाउनुभयो ।
भक्तपुर नगरलाई सफा, स्वच्छ, सांस्कृतिक र पर्यटकीय गन्तव्य स्थल बनाउन जनप्रतिनिधि निरन्तर क्रियाशील हुनुपर्नेमा जोड दिँदैं उहाँले विकास निर्माणमा उपभोक्ता समितिमार्फत आर्थिक अनुशासनमा बसी पारदर्शी ढंगले सम्पन्न गर्ने कार्यलाई नगरपालिकाले चालु राख्नुपर्ने बताउनुभयो ।


कुहिने र नकुहिने फोहर अलग अलग संकलन गर्न सके ८० प्रतिशत फोहोर स्रोतमै घट्ने बताउँदैं उहाँले अस्पताल र उद्योगबाट निस्कने फोहरको विशेष रुपमा संकलन गर्ने बन्दोबस्त नगरपालिकाले गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनालाई प्राथमिकतामा राखी जनभावनाबमोजिम छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर र नगरबासीहरूको हितलाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्ने र विश्वविद्यालय सञ्चालन गर्न विज्ञहरुको टोली समेत गठन गरी आवश्यक तयारी गर्ने उल्लेख गर्दै ख्वप अस्पतालमा प्रसुती सेवा सञ्चालनमा ल्याईने बताउनुभयो ।
नगरपालिकाद्वारा प्रवाह गरिने सेवा सुविधालाई सरल, छिटो बनाइने र अनलाइनबाट कर तिर्ने र नक्सापासको प्रक्रिया अगाडि बढाइने योजना रहेको उहाँले बताउनुभयो ।


नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँले एसपीपीका कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भइरहेको बताउनुभयो । उहाँले नयाँ पुस्तामा व्यक्तिवादी चिन्तन हावी भइरहेको चर्चा गर्दै सामूहिक चिन्तानसहितको सेवाको भावबाट नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रदेशसभा सदस्य सृजना सैंजुले भक्तपुर नगरपालिकाले अपनाइरहेको जनसहभागितामा आधारित विकासको मोडलको देशव्यापी रुपमा चर्चाको विषय बनिरहेको बताउनुभयो । भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले काठमाण्डौं उपत्यकाको सम्पदा जगेर्नामा भक्तपुर नपाले अग्रणी भूमिका खेल्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुर नपाको नीति तथा कार्यक्रममा नगरको लाभ प्रवद्र्धन गर्न सकिने जनमुखी खालका विषयवस्तु समाविष्ट भएको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले भक्तपुर क्यान्सर अस्पताल काठमाण्डौं उपत्यकाकै सुविधासम्पन्न अस्पतालको रुपमा अगाडि बढिरहेको जानकारी दिँदैं भक्तपुर नपाले टोलटोलमा क्यान्सर परीक्षण शिविर सञ्चालन गरी व्यापक जनतालाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो । लक्ष्मी गारु