नेम्बाङको अध्यक्षतामा एन्फाको नयाँ नेतृत्व चयन

भक्तपुर, असार ७
अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् ।
नेम्बाङले अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई पराजित गर्दै निर्वाचित भएका हुन् । कुल खसेको ८४ मत मध्ये नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन् ।
चार वर्षअघि शेर्पा अध्यक्षमा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्षमा निर्वाचित भएका थिए । पछि कार्यसमितिले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो । लामो समयसम्म चेन्ज एन्फाको नारासहित एन्फाको तत्कालिन संस्थापनविरुद्ध आन्दोलित हुँदा शेर्पा र नेम्वाङ सँगै थिए । तर एन्फाको नेतृत्वमा आएदेखी शेर्पा र नेम्वाङबीचको सम्बन्ध चिसिँदैं गएको थियो । अन्ततः २१ औं साधारणसभामा आउँदा दुवै एक अर्काको प्रतिष्पर्धी बन्नु पुगे ।
यस्तै वरिष्ठ उपाध्यक्षमा पंकज प्यानलकै बिर बहादुर खड्का निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्धन्द्धी कर्मा प्यानलका शिक्षित पराजुलीलाई ४ मतले पराजित गरेका हुन । बिर बहादुरले ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी शिक्षितले ४० मत पाए । यस्तै उपाध्यक्षमा पंकज प्यानलका दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र कर्मा प्यानलबाट दीर्घ बहादुर केसी (कुमार) निर्वाचित भएका छन् ।

दावाले सर्वाधिक ४८ मत ल्याए । विराट र दीपकले समान ४७ मत ल्याए । कर्मा प्यानलका दीर्घले ४२ मत पाए । पराजित उपाध्यक्षका उम्मेदवारहरु पंकज प्यानलका सुन्दर नरसिंह जोशीले ४१, कर्मा प्यानलका उपेन्द्रमान सिंह र विज्ञान राज शर्माले समान ३७ मत तथा रत्न कुमार श्रेष्ठले ३६ मत पाए ।
महिला सदस्यमा पंकज प्यानलकी सरिला श्रेष्ठ र कर्मा प्यानलकी पेमा डोल्मा लामा निर्वाचित भए । सरिलाले ४६ तथा पेमाले ४३ मत पाइन् । यस्तै १३ सदस्यमध्ये ११ जना निर्वाचित हुँदा थप दुई जनाको लागि पुनः निर्वाचन हुने भएको छ । चार जना उम्मेदवारको समान ३९ मत आएपछि गोलाप्रथा गरिने भनिएपनि विशेष साधारणसभाबाट चार जनाबीच निर्वाचन गराई दुई सदस्य छानिने एन्फाले जनाएको छ ।
सदस्यका उम्मेदवारहरु दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत पाएका छन् । यि मध्ये दीपक, रुपेश र लोकेन्द्र कर्मा प्यानलका हुन् । निर्वाचित केन्द्रीय सदस्यहरुमा मनिष जोशी ४८, अनिल मल्ल ४७, रविन्द्र चन्द ४६, विकास नारायण श्रेष्ठ ४४, भोजराज शाही ४४, महेन्द्र क्षेत्री ४४, पुरुषोत्तम थापा ४३, रमेश व्यन्जनकार ४३, मनिराज विष्ट ४२, टिकाराम लामा ४१ र भरत बुढ् थापा ४० मत छन ।
निर्वाचित हुनेमध्ये मनिष, रमेश, मणि राज, टिका राम, र भरत कर्मा प्यानलका तथा अनिल, रविन्द्र, विकास नारायण, भोजराज, महेन्द्र, र पुरुषोत्तम पंकज प्यानलका हुन् । १३ सदस्यका लागि ३६ जनाको उम्मेदवारी परेको थियो ।
२१ सदस्यीय कमिटिका लागि अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उमेदवारी परेको थियो । यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका थिए । निर्वाचनमा ४५ जिल्लामध्येबाट ४२ जिल्ला, १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लब, मोफसलका ४ क्लबसँगै एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले मताधिकार पाएको थियो ।