यसवर्षको नवदुर्गा देवगणको ङालाकेगु जात्रा सम्पन्न

लक्ष्मी गारु, भक्तपुर, जेठ २७
यसवर्षको नवदुर्गा देवगणको ङालाकेगु (माछा मार्ने) जात्रा आज सम्पन्न भएको छ । नवदुर्गा देवगणलाई बिहिवार राती इच्छु टोलमा ल्याएको थियो । आचाजुले तान्त्रिक विधिद्धारा पुजापाठ गरी शुक्रवार ङालाकेगु जात्रा मनाएसँगै यसवर्षको ङालाकेगु जात्रा सम्पन्न भएको हो । ऐतिहासिक तथा साँस्कृति महत्व बोकेको यो जात्रा १६ औ शताब्दीदेखि प्रचलनमा रहेको छ ।
माघे संक्रान्तिको राती नवदुर्गा देवगणलाई देवगृहबाट सुर्यमढी टोलमा लगी तान्त्रिक विधिद्धारा अष्टमात्रिका देवी देवताहरुलाई आह्वान गरी श्वेत भैरवले विधिवत् रुपमा पूजा अर्चना गरेपछि यो जात्रा हुन्छ ।
वर्षको आठ महिना सञ्चालन हुने यो जात्रा भक्तपुर नगरबाहिर देउपाटन, थिमी, नगदेश, बोडे, तुप्चा, मुलाकेचा, ग्रेखा, जयवागेश्वरी साँखु, श्रीखण्डपुर, दोलखा, गोकर्ण, बनेपा, धुलिखेल र पनौतीलगायतका स्थानमा प्रदर्शन गरिन्छ ।
यस्तै भक्तपुर नगरभित्र यो जात्रा २१ स्थानमा सञ्चालन हुने गर्दछ । भक्तपुर नगरका सूर्यमढी, तचपाल, क्वाठण्डौ, गछेँ, दथुटोल, इनाचो, गोल्मढी, याछँे, तौमढी, तालाको, मुलाखु, गःहिटी, क्वाछँे, टिबुक्छेँ, खौमा, दरबार स्क्वायर, इताछेँ, बालाखु, तुलाछँे, चोछँे लगायत ठाउँमा जात्रागरे पछि अन्तिममा इच्छुमा ङालाकेगु जात्रा गरी सम्पन्न हुने नवदुर्गा जात्रा व्यवस्थापन संस्थाका सचिव रत्नमान बनमालाले जानकारी दिनुभयो ।
नवदुर्गा देवगणमा खिंबाजा, तंबाजा, कंबाजा, महादेव, गणेश, भैरव, ब्रह्मायणी, महेश्वरी, कुमारी,भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव रहेको हुन्छ । जात्रा अवधिभर विभिन्न हाउभाउ प्रस्तुत गर्दै थरिथरीका रसरंगहरु सहित विधिवत रुपमा नाच प्रर्दशन गरिने परम्परा रहेको छ ।
पौराणिक किम्बदन्ती तथा शिलालेखमा उल्लेख भए अनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर शहरलाई नवदुर्गा भवानीमार्फत राजधानीको शहरको रुपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्वबाट रक्षा गर्न तथा सुख, शान्ती एवं समृद्धि फैलाउन बनमाला जातिको नेतृत्वमा तान्त्रिक देवदेवीहरुका साथ नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएको हो ।
महादेव, गणेश, भैरब, सिम्ब, बम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, दुम्ब, र श्वेतभैरब गरी १३ देवगणको मुकुण्डो रहेको नवदुर्गाको यो जात्रामा विशेषगरी दुम्ब र श्वेतभैरबको मुख्य भुमिका रहेको हुन्छ ।