काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच सहमति, शुक्रवार रातिदेखी फोहोर उठ्ने

भक्तपुर, जेठ २७
काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । सहमतिसँगै शुक्रवार रातीदेखी काठमाण्डौं उपत्यकाको फोहोर विना अवरोध सिसडोल बञ्चरेडाँडामा विसर्जन हुने भएको छ ।
महानगरपालिका र स्थानीय बासिन्दाबीच बिहिवार राति १ बजे फोहोरको ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्नेलगायतका सहमति भएको छ ।
यस्तै फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था मिलाउने, फोहोरमैला प्रभावित क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने र अध्ययनले दिएको कार्यहरु कार्यान्वयन गर्न पहल गर्ने, फोहोरमैला व्यवस्थापनको कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौ महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने, फोहोरलाई स्रोतमा वर्गीकरण गरी व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी महानगरपालिकाको हुने, प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्नेलगायतका विषय सहमतिपत्रमा उल्लेख गरिएको छ ।
सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका – १ का अध्यक्ष पदमबहादुर श्रेष्ठ बलामी, ककनी गाउँपालिका – २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका – १ अध्यक्ष बहादुर तामाङ र धुनीबेंसी नगरपालिका – ३ का अध्यक्ष प्रकाश हमालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यसअघि त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।